नेकपाद्वारा बागलुङका ठूला ठगहरूको नाम सार्वजनिक, अब कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, बागलुङले सर्वसाधारणको रकम फिर्ता गर्न माग गर्दै अन्यथा सहकारी सञ्चालकहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

नेकपाका क्रान्ति सीले विज्ञप्ति जारी गरेर शिवशिखर सहकारीले निक्षेपको दश अर्ब रुपियाँ दुरुपयोग आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीता शर्माले मात्र सर्वसाधारणको करिब १४ अर्ब निक्षेपमध्य १० अर्ब दुरुपयोग गरेको विषय बाहिर आएको छ ।’

शिवशिखर सहकारीले बागलुङ जिल्लामा करिब ४० करोड बराबरको सर्वसाधारणको निक्षेप हिनामिना गरेको नेकपाले जनाएको छ ।

बागलुङ बजारमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले पनि सर्वसाधारणको अर्बौं निक्षेप हिनामिना गरेको सेक्रेटरी क्रान्ति सीले विज्ञप्तिमा जनाएका छन् ।

एमालेका नेता समेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । नेपालीले सहकारीको सबै निक्षेप भ्याएर स–परिवार फरार भएका छन् ।

ढोरपाटन नगरपालिका वाड नम्बर–२ मा अध्यक्ष ददिराम अर्याल रहेको शेरादोभान बचत तथा ऋण सहकारीको करोडौं बराबरको जनताको निक्षेप पनि हिनामिना गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘दलाल, भ्रष्टाचारी, कालोबजारी र माफियाले जनताको पैसा उठाएर खेलवाड गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘सहकारीको नाममा जनताबाट उठाएको निक्षेप तुरुन्त फिर्ता गरि सहकारीका शेयर र बचतकर्ताको जनजीवन सहज बनाउन अनुरोध गर्दछौं ।’

‘यदि जनतालाई ठग्ने मनसाय गरेर जनताको पैसामा सहकारी मालिकले मोजमस्ती गर्ने, जनताको आर्थिक अवस्थालाई माटोमा मिलाउने कार्य भएमा जनतासँग रहेर यस्ता ठगहरूलाई आवश्यक कार्वाहीको दायरामा ल्याउने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै कदम चाल्न पनि तयार रहने जानकारी यसै प्रेस विज्ञप्तिमार्फत गउँदछ’, सेक्रेटरी क्रान्ति सीले चेतावनी दिएका छन् ।

Published : Wednesday, 2023 May 31, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया