नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीविरुद्धको समाचारको खण्डन

काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको नाम जोडेर नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बुधबार विज्ञप्ति जारी गरेर कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने जनाएका छन् ।

उनले नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालयले पूर्ण असहमति प्रकट गरेको जनाएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरि मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रुपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनि प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्तै दु:खद् कुरा हो’, विज्ञप्तिमा भनिएको छ ।

‘कुनै तथ्य, प्रमाणविना अनुमानका आधारमा कपोकल्पित र सतही रुपमा आएका उक्त भ्रामक र नियोजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्वसनीयता र छविमाथि गम्भीर आँच पुगेको हुँदा उक्त समाचारको खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

समाचारका सन्दर्भमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हालका आईजीपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई बचाउन लागेको तथा सम्पर्क रहेको भनेर आएका समाचारका पनि प्रवक्ता कडायतले खण्डन गरेका छन् ।

Published : Wednesday, 2023 May 24, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया