खनालसहितका मन्त्रीले लुम्बिनीमा शपथ लिए, माओवादी बम्कियो

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार बुटवलमा मुख्यमन्त्री चौधरीले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालय, लोकतान्त्रिक समाजवादीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला कानून तथा शहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री चौधरीसहित उनीहरूले वैशाख १४ गते शपथ लिएका थिए । मन्त्रीहरूले मन्त्रालय पाएका थिएनन् ।

नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश कार्यसमितिका उप–सभापति समेत रहेका प्रदेश सभा सदस्य राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्ता मन्त्री नियुक्त भएका छन् ।

खनाल स्वास्थ्य मन्त्री, अहिर कृषि मन्त्री र गुप्तालाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ ।

माओवादी केन्द्रले मन्त्रालय भागबन्डामा असहमति जनाएको छ । माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा सहभागी भएको छैन ।

यसअघि माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्री बनाउन सिफारिस गरिएको थियो । माओवादी केन्द्रले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

माओवादीबाट विद्रोह गरेर स्वतन्त्र भई चुनाव जितेका दीपेन्द्र पुनलाई मन्त्री बनाउने विषयमा कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले प्रश्न उठाएको छ । पुनले लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई नराम्रोसँग हराएका थिए ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ र अन्य ६ दलका लागि ४ मन्त्रालय दिने गरी कांग्रेस–माओवादी केन्द्रबीच यसअघि सहमति भइसकेको छ ।

Published : Monday, 2023 May 22, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया