ओखलढुंगामा गुम्बामा आगलागी, बुद्धका मूर्तिहरू जलेर नष्ट

काठमाडौं । ओखलढुंगा, सिरहासहितका विभिन्न जिल्लामा आगलागी हुँदा करीव दुई करोडौंको क्षति भएको छ ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–२ बौद्धस्थित ङुडुप छोलिङ बौद्ध गुम्बामा बिहीबार बिहान आगलागी भएको छ ।

गुम्बा, गुम्बाभित्र रहेको बुद्धको मूर्ति, पूजाको लागि प्रयोग गरिने ९ थान मूर्ति, धर्म ग्रन्थ पुस्तक, फर्निचर, लत्ताकपडा लगायतका सामान जलेर करिब ३२ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले गुम्बामा भएको आगलागीप्रति चिन्ता जनाएका छन् । उनले आगलागीबाट ठूलो नोक्सानी भएको भन्दै दु:ख व्यक्त गरेका छन् । खतिवडाले बुद्धका मूर्तिहरूसहितका सामग्रीहरू जलेर नष्ट भएकोमा ठूलो नोक्सानी भएको जनाएका छन् ।

सिरहाको गोलबजार नगरपालिका–६ गोलचौक बस्ने रामएकवाल गिरीको कपडा पसलमा बिहीबार बिहान आगलागी भएको छ ।

आगो फैलिएर कपडा पसलसंगै रहेको कपडा गोदाममा समेत आगलागी हुँदा कपडा लगायतका सामान पूर्णरूपमा जलेर करिब १ करोड रूपियाँ बराबरको धनमाल नष्ट भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिरहा नगरपालिका–७ भूमिसुधार बस्ने उमेशकुमार साहको आरएन ईन्टरप्राईजेज मोबाईल एन्ड रिपेयरिङ सेन्टरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा विभिन्न किसिमका मोबाईल तथा अन्य सामानहरू जलेर करिब ५ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुरको उदयपुर बेलका नगरपालिका–१ आम्बासी बस्ने ४० वर्षीय दीपेश खड्काको ग्वालीमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ ।

ग्वालीमा रहेको कुटी काट्ने मिसिन १ थान, मोटोर १ थान, स्यानो मिल १ थान, मिटर बक्स १ थान, भकारीमा रहेको ४० महन धान, पराल, काठ लगायतका सामान पूर्णरुपमा जलेर करिब १० लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

Published : Thursday, 2023 May 18, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया