सबैभन्दा धेरै सांसदले समर्थन गरेको केन्द्र सरकार अस्थिरतातिर उन्मुख : रोज राणा

मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभाका सदस्य रोज राणाले राष्ट्रिय राजनीतिमा अस्थिरता आउन लागेको भन्दै चिन्ता जनाएका छन् ।

आइतबार दाङको मसुरियास्थित लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै राणाले भने, ‘राष्ट्रिय राजनीति नै अस्थिर भयो । आज सबैभन्दा धेरै सांसदले समर्थन गरेको सरकार नै अस्थिरतातिर उन्मुख देखिएको छ ।’

‘राजनीतिक अस्थिरताले गणतन्त्र नै हल्लिन लाग्यो । स्थिर सरकार र सुशासनका लागि प्रयास गरियोस्’, उनले भनेका छन् ।

प्रदेश सांसद राणाले भनेका छन्, ‘युवा बेरोजगारको तथ्याङ्क भयाबह छ । दैनिक हजारौंको संख्यामा हाम्रा युवा खाडी जान बाध्य छन् ।’

‘शैक्षिक जनशक्ति समेत युरोप, अमेरिका भाँसिदा नेपाल अब वृद्धाआश्रममा रुपान्तरण हुन्छ कि ? भन्ने डर छ ।’

‘राज्य यति बेला सम्वेदनशील नहुने हो भने भोलि हामीले पछुटाउने बाहेक हामीसँग केही रहन्न’, उनले भने, ‘युवालाई विदेश जानबाट रोक्ने भन्ने हामीसँग योजना खोइ ? हामीसँग कुनै योजना छैन ।’

राणाले भने, ‘जनताको आवाज हामीले बुझ्न सकेनौं भने जनता बिकल्प खोज्न बाध्य हुनेछ । त्यो विकल्प भनेको अतिवाद पनि हुन सक्छ । जनताको भावना हामीले नबुझे कसले बुझ्ने ?’

‘निर्वाचन भएको पनि लामो समय भइसक्यो । जनताले केन्द्र सरकारको स्थिरता देख्न पाएका छैनन् भने प्रदेशमा त सरकारले पूर्णता पाउन सकेको छैन’, उनले भनेका छन्, ‘योभन्दा लाजमर्दो स्थिति जनतामा आउँदा संघीयताप्रति निराशा उत्पन्न भएको हो । सरकारले पूर्णता पाओस् । प्रदेश सरकारले जनहितमा योजना ल्याओस् ।’

सांसद राणाले लुम्बिनी प्रदेशमा विकास खर्च हुन नसकेकोमा सरकारको आलोचना गरेका छन् ।

उनले भने, ‘हाम्रो बजेट २४ अर्ब ६३ करोड १९ लाख छ । आर्थिक वर्षको आधा अबधि सकिँदा समेत विकासमा जम्मा ३ अर्ब ६४ करोड ९४ लाख अर्थात् जम्मा १४.८२ प्रतिशत मात्रै खर्च भएको छ ।’

‘विकासमा किन ढिला भइरहेको छ ? सांसदहरूले जानकारी पाउनुपर्छ’, राणाले भनेका छन् ।

बैंक तथा सहकारीहरूले ऋणिहरूलाई दिएको तनाबप्रति कांग्रेसका सांसद राणाले आक्रोश पोखेका छन् ।

‘बैंक तथा सहकारीको ऋणाले दैनिक रुपमा ऋणिहरूले आत्महत्या गरेका समाचार बाहिर आइरहेका छन्’, उनले भने, ‘सहज र सरल तरिकाले व्यवसाय गर्न सकिनेबारे सरकारले विकल्प दिनुपर्छ ।’

‘संघीया बोझ भयो भन्न थालिएको छ’, उनले भने, ‘प्राप्त उपलब्धी बिकल्प खोजीभन्दा पनि कम खर्चिलो बनाउने उपायको खोजी गरौँ । जसका निम्ति हाम्रा सेवासुविधा काट्नुपर्छ, हटाउनुपर्छ भने पनि त्यसमा हामी तयार हुनुपर्छ ।’

उनले भने, ‘लुम्बिनी, स्वर्गद्वारी, सुपादेउराली, रानीमहल जस्ता पर्यटन केन्द्रहरूको थप प्रचार तथा विकास गरेर प्रदेशको आम्दानी बढाउने कार्यक्रम ल्याइयोस् ।’

उनले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात विषयगत क्षेत्रको बजेट बढाइयोस् बरु हाम्रा सेवा सुविधाहरू कटौटी गरियोस् ।’

‘नेपाल आज पनि कृषि प्रधान देश हो । तर, पनि कृषकले पर्यप्त बीउ, मल पाउन सकेका छैनन्’, राणाले भनेका छन् ।

प्यूठानका क्षेत्रीय सभापति समेत रहेका लुम्बिनी प्रदेश सभा सदस्य राणाले प्यूठानबाट निर्वाचित गरेर प्रदेश सभामा पठाउने आफ्ना मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

राणाले आइतबार लुम्बिनी प्रदेश सभा बैठकमा पहिलो पटक समय लिएर सम्बोधन गरेका हुन् ।

Published : Monday, 2023 February 6, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया