आईजीपी सिंह अबुधाबी प्रस्थान, थापाले प्रहरीको कमाण्ड सम्हाल्ने

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह ईन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् ।

आईजीपी अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म संचालन हुने ईन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेश्नल सेन्ट्रल व्यूरो काठमाडौं, नेपालका प्रमुख समेत रहेका आईजीपी सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरेका छन् ।

त्रिदिवसीय सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, ईन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरूमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।

आईजीपी सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Published : Monday, 2023 February 6, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया