बलात्कार आरोपीलाई राष्ट्रिय टिममा राखेपछि देशभरि बबाल, काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा नाबालिग बलात्कार आरोप लागेका खेलाडीलाई राखेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा स्वस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको विरोधमा प्रदर्शन भएको हो । निलम्बन फुकुवा गरेर लामिछानेलाई क्यानले बन्द प्रशिक्षणमा राखेको छ । बलात्कार आरोपीलाई निलम्बन फुकुवा गरेर बन्द प्रशिक्षणमा समावेश गरेको विरोधमा सामाजिक सञ्जालमार्फत विरोध भइरहेको छ ।

प्रदर्शनकारीले क्यानका अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाइएको छ । क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् ।

फौजदारी कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने कसुरमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त दोषी देखिए थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने प्रावधान छ ।

कसूर स्थापित भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुन सक्छ । पाटन उच्च अदालतले गत पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छाडेको छ ।

उच्च अदालतले समेत लामिछानेलाई तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने भने पनि थुनामा नपठाएर धरौटीमा छाडेपछि महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले शुक्रबार लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको फैसलासहितका मिसिल झिकाउने आदेश दिएको छ ।

लामिछानेविरुद्ध लागेको अभियोग, तत्काल प्राप्त प्रमाण तथा जिल्ला र उच्च अदालतले गरेका आदेशसमेत भएको ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश भएको सर्वोच्चले जनाएको छ ।

लामिछानेलाई राष्ट्रिय टिममा राखेर बन्द प्रशिक्षणमा पठाएको भन्दै देशभरि नै विरोध भइरहेको छ ।

Published : Saturday, 2023 February 4, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया