भ्रष्टाचारका यी आरोपीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउ खरिदमा अनमियतता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

सोमबार आयोगले पूर्वमेयरसहित ६ कर्मचारी र आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । अख्तियारले आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, लेखापाल राजेन्द्र रेग्मी र खरिदार सन्तोष कोइरालाविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरूलाई एक करोड ९७ लाख ७० हजार ४ सय ९९ रुपियाँ बिगो कायम त्यसअनुसार कैद र बिगोवमोजिम जरिवाना मागिएको छ ।

अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लिका अख्तियार प्राप्त प्रतिनिधि शिवप्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिएका थिए ।

आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पु¥याउने कार्य गरेको उल्लेख छ ।

आपूर्तिकर्ता कम्पनी र प्रतिनिधिका न्यौपानेलाई दुई करोड १० लाख ७० चार सय ९९ रुपियाँ बिगो कायम गरी त्यस बमोजिम सजाय र बिगो जफत गर्न मागदाबी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उल्लेख गरेका छन् ।

Published : Monday, 2023 January 23, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया