चुनावका बेला ललितपुरमा एमालेका लोकप्रिय युवा नेताहरूले पार्टी छाडे

काठमाडौं । मतदान गर्ने समय नजिकिएका बेला एमाले ललितपुरका लोकप्रिय युवा नेताहरूले पार्टी छाडेका छन् ।

२०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन विशेष भूमिका खेलेका गोदावरी नगरपालिकाको चापागाउँका स्थानीय एक दर्जन नेताहरूले पार्टी छाडेका हुन् ।

एमाले पार्टी परित्याग गर्नेहरूमा जीवन देशार, सुमंगल देशार, नरेश देशार, स्यामेल देशार, राजन देशार, सुनिल देशार रहेका छन् ।

मनिन देशार, अभिषेक देशार, अनिल देशार, मिलन देशार, साजन देशार र सुजन देशारले पनि एमाले पार्टी परित्याग गरेको जीवन देशारले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

एमाले छाडेका उनीहरू कुन पार्टीमा प्रवेश गर्ने हुन् जीवनले केही लेखेका छैनन् ।

एमालेबाट विगतमा निर्वाचत जनप्रतिनिधिहरूले ललितपुरको विकासमा सिन्को पनि भाँच्न नसकेपछि उनीहरू असन्तुष्ट बनेका थिए ।

कांग्रेसले हारेकै कारण विकासमा ललितपुर पछाडि परेको छ । यस पटक सत्तागठबन्धनका उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

ललितपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभामा कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा र प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता हरि दाहाल र २ मा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।

राणा, दाहाल र महर्जनको पक्षमा ललितपुरमा माहोल सिर्जना भइरहेको मतदाताहरूको भनाइ छ ।

Published : Monday, 2022 October 31, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया