ओलीको आदेशले एमालेका कार्यकर्ताहरु चकित

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीको इज्जतका लागि पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयी बनाउन पार्टीका नेता कार्यकर्तासँग अनुरोध गरेका छन् ।

शुक्रबार झापाको क्षेत्र नं. ३ मा आयोजित कार्यक्रममा ओलीले झापा–३ मा लिङ्देनलाई जिताउनुपर्ने बताए । उनले एमालेका कार्यकर्ता र नेताहरुलाई राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गरेर लिङ्देनलाई जिताउन निर्देशन दिएका छन् ।

एमालेका अध्यक्ष ओलीले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् । झापाको क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । ओलीले सिटौलाको नाम नलिएर लिङ्देनलाई जिताएर सिटौलालाई हराउन आदेश दिएका छन् ।

ओलीको आदेशपछि एमालेका कार्यकर्ताहरु चकित परेका छन् । राजावादीहरुलाई ओलीले भोट मागेपछि गणतन्त्र मान्ने एमालेका कार्यकर्ता दिक्क भएका छन् ।

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ ओलीले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो ।’

ओलीले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने बताएका छन् ।

उनले भने, ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ ।’

उनले भने, ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने बताएका छन् ।

‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ’, उनले भने, ‘माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’

लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबन्ने ओलीले बताएका छन् ।

ओलीले एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जनता समाजवादी पार्टी र राप्रपासहितको सरकार बन्ने बताए ।

Published : Friday, 2022 October 28, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया