विभाजित हुनु हुँदैन, नेता र कार्यकर्ताले बुझ्न आवश्यक छ : कांग्रेस नेता सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरू आपसमा विभाजित भए पनि समाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक दलहरू आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुने बताए ।

‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौँ’, उनले भने, ‘हामीले विभाजित भएर समाजलाई हिनाउने होइन, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ ।’

एकआपसमा दलहरू झगडा र विरोध गरेर समाज विकास नहुने उनले बताए । सिङ्गो नेपाल र नेपाली जनताको बारेमा सोँचेर राजनीतिक दलले एकठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने सिटौलाले बताएका छन् ।

शहीद गंगालाल श्रेष्ठको योगदानको स्मरण गरेका नेता सिटौलाले विभिन्न आन्दोलनहरूमा ज्यानको आहुती दिएका शहीदहरूले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागी सबै दलहरू एकजुट हुन आवश्यक भएको बताए ।

उनले राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने बताएका छन् ।

शहीदहरूको आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सदभाव एवम् सिंगो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने उनले बताएका छन् ।

‘हामीले ठूल्ठूला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौँ’, सिटौलाले भने, ‘अब समाजलाई सही बाटोमा हिँडाउने, समाजमा कोही पनि मानिस पछि नपरोस् भनेर सोच्ने बेला आएको छ ।’

‘आर्थिक रूपमा पछाडि परेकाहरूको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ’, कांग्रेस नेता सिटौलाले भनेका छन् ।

Published : Wednesday, 2024 May 1, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया