कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको असरमा शुभकामना सन्देश दिएका छन् ।
बुधबार सभापति देउवाले विज्ञप्ति जारी गरेर भने, ‘मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन ।’

‘सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् र नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रुपमा मनाइँदै आइएको छ’, देउवाले भने ।

‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो’, उनले भने ।

‘सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक वीपी कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरेको थियो’, उनले भने ।

सभापति देउवाले भने, ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदुरहरू सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

‘वि.सं. २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरहरूलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो ।’

‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ’, उनले भने, ‘उहाँहरूको समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वद्र्धन गर्न तथा सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न नेपाली कांग्रेस क्रियाशील रहेको छ ।’

‘आजको यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजु–भाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, सभापति देउवाले भने ।

Published : Wednesday, 2024 May 1, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया