पररिया घटनामा अध्यक्ष अन्सारीद्धारा गृहमन्त्री र दुई आईजीपीसँग कुराकानी, संयमता अपनाउन अपील

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारले पररिया घटनाका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाण र दुई जना आईजीपीसँग कुराकानी गरेका छन् ।

शुक्रबार अध्यक्ष अन्सारीले गृहमन्त्री खाणका साथै नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालसँग टेलिफोनमा पररिया घटनाका बारेमा गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

अन्सारीले पररिया घटनाका दोषीलाई कारबाही र घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिएको बताएका छन् । अन्सारीले गृहमन्त्री र आईजीपीहरुसँग सुरक्षा निकायका प्रमुखलाई हटाउन माग गरेको बताएका छन् ।

पररिया घटनाबाट आफू निकै चिन्तित रहेको र सो घटनालाई उग्र नबनाउन अध्यक्ष अन्सारीले अपील गरेका छन् । उनले दुबै पक्षलाई संयमित भएर सामाजिक र साम्प्रदायिक सद्भाव बनाइराख्न अपील गरेका छन् ।

अध्यक्ष अन्सारीको आग्रहपछि गृहमन्त्री खाण र आईजीपीद्धव सिंह र अर्यालले घटनालाई आफूहरुले गम्भीरतापूर्वक लिएको सबैलाई जिम्मेवार बन्न अनुरोध गरिएको जवाफ दिएका छन् ।

यसैबीच, महोत्तरीको भँगाहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।

पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन् ।

असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।

घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।

Published : Friday, 2022 October 28, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया