मंसिर ४ को निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न गृह कार्य शुरु : आईजीपी सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति तथा उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

बिहीबार प्रहरी हेडक्वाटरमा आयोजित पत्रकार भेटघाटमा सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताए ।

उनले सांगठनिक सुधारको लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागू बताए ।

मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले बताएका छन् ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताएका छन् ।

आईजीपी सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताएका छन् ।

कानूनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारवाही गरिने उनले उल्लेख गरेका छन् ।

सिंहले हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरेका छन् ।

उनले निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको बताए ।

उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताएका छन् ।

प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क, नेपाल प्रहरी कार्ययोजना २०७९ एवम् प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्दार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागिता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

Published : Thursday, 2022 August 11, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया