एमालेले धाँधली गरेका वडाहरूको सूची कांग्रेसद्वारा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले बाजुरा जिल्लाका ४ वटा वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाएको छ ।

सोमबार ललितपुरस्थित पार्टी मुख्यालयमा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर बाजुराको बुढीगंगा नगरपालिकामा बाहुबलको प्रयोग गरेर वडा नं. २, ३, ५ र ९ मा धाँधली गरेर बुथ कब्जा गरेको आरोप लगाए ।

‘सरकारले सम्पूर्ण बन्दोबस्त गर्दागर्दै पनि प्रतिस्पर्धी एमालेका केन्द्रीय तहका नेताहरूकै संलग्नता तथा निर्देशनमा बाजुराको बुढीगंगा नगरपालिकामा बाहुबलको प्रयोग गरी वडा नं. २, ३, ५ र ९ का नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिमाथि आक्रमण गर्ने, मतदान केन्द्रबाट लखेट्ने, बन्धक बनाउने, बुथ कब्जा गरी फर्जी मत हाल्ने र राजिनामा दिएर फर्किएका निर्वाचन अधिकृतलाई फर्जी मत हालिएका मतपेटिका बुझ्न बाध्य पारेपछि त्यहाँ पुनः मतदानको व्यवस्था गर्न कांग्रेसले निर्वाचन आयोग समक्ष माग गरेको छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘यस विषयमा निर्वाचन आयोगलाई तत्काल निर्णय गरी ती वडाहरूमा पुनः मतदान गर्न कांग्रेस पुनः जोडदार माग गर्दछ’, उनले भनेका छन् ।

उनले भने, ‘उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना रोकिएको छ । यसमा छिटो निर्णय गर्न हामी निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछौं ।’

‘सरकारले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई सम्पूर्ण सहयोग पुर्‍यायो’, कांग्रेसले भनेको छ ।

Published : Monday, 2022 May 23, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया