रामपुरमा मेयरमा पराजित एमालेका उम्मेदवारले देखाए राजनीतिक संस्कार, दिए कांग्रेसलाई शुभकामना

रामपुर । एमालेको तर्फबाट पाल्पाको रामपुर नगरपालिकाको मेयरमा उम्मेदवार बनेका शिव अर्यालले आफ्ना मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

मंगलबार रामपुरको मेयर पदमा पराजित भएपछि एमालेका नेता अर्यालले निर्वाचनको नतिजालाई स्वागत गर्दै मतदाताहरूलाई धन्यावाद दिएका हुन् ।

‘उत्साहजनक रुपमा रामपुर नगरपालिकामा धैर्य गर्दै आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्नु हुने सम्पूर्ण नगरबासी बुवा, आमा, दिदी, बहिनी, दाजु, भाईलाई विशेष धन्यवाद’, अर्यालले भनेका छन् ।

‘तपाईंहरूले देखाउनुभएको उत्साहजनक सहभागिताले जनप्रतिनिधिलाई थप जिम्मेवारीबोध गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने, ‘निर्वाचन प्रक्रियामा संलग्न निर्वाचन आयोगसहित सम्पूर्ण अधिकारी, सुरक्षाकर्मी, पर्यवेक्षक, राजनीतिक दल लगायत सबैलाई हार्दिक धन्यवाद ।’

‘मेयर पदमा झिनो मतले पराजित हुन पुगेको छु तथापि बहुदलीय प्रतिस्पर्धाको सबल पक्षने यहि हो’, अर्यालले भने, ‘चुनावी मैदानमा म लगायत एमाले उम्मेदवारहरूका लागि अहोरात्र मैदानमा खटिनुभएका सम्पूर्णमा हार्दिक नमन सहित हृदयबाट आभार व्यक्त गर्दछु ।’

‘मेयर पदमा निर्बाचित हुनु भएकोमा मित्र रमणबाहादुर थापा लगायत सम्पूर्ण मित्रहरूलाई बधाइ तथा कार्यकालको शुभकामना आगामी दिनमा तपाईहरूको सुझाब, सल्लाहसहित हातेमालो गर्दै अगाडि बढ्दै यो सुन्दर नमूना रामपुर बनाउने प्रण गर्दछु ।’

एमालेबाट मेयर पदमा उम्मेदवार बनेका अर्याल नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रमणबाहादुर थापासँग झिनो मतको अन्तरले पराजित भएका थिए ।

उम्मेदवारहरू पराजित भएपछि लुसुक्क गायब हुने परम्परालाई तोड्दै अर्यालले राजनीतिक संस्कार देखाउँदै आफैलाई पराजित गर्नेलाई शुभकामना र बधाई दिएका छन् । अर्याल अधिवक्ता पनि हुन् ।

Published : Tuesday, 2022 May 17, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया