प्रचण्ड समूहद्वारा कानून व्यवसायीहरूसँग परामर्श, गृहमन्त्रीले ओलीलाई धोका दिने सम्भावना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहले कानून व्यवसायीहरूसँग संसद विघटनका विषयमा परामर्श लिएको छ ।

सिंहदरबारस्थित पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा सोमबार दाहाल समूहले कानून व्यवसायीहरूसँग छलफल गरेको हो ।

छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामनारायण बिडारीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

कानून व्यवसायीहरू शम्भु थापा, युवराज संग्रौला, टीकाराम भट्टराईलगायतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानको ठूलो उल्लंघन गरेको बताए । उनीहरूले संसद विघटनलाई मान्यता नदिन आग्रह गरेका छन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालले कांग्रेससँगको छलफलपछि विशेष निर्णय लिइने बताएका छन् ।

यसैबीच, दाहालले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेका छन् । दाहालले आफूहरूलाई साथ दिन थापासँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा सोमबार बिहान बोलाएको भेलामा गृहमन्त्री थापा गएका थिएनन् ।

थापाले मन्त्री क्वाटरमै आफू निकटका नेता र सांसदहरूसँग छलफल गरेका थिए ।

दाहालको आग्रहपछि बेलुकासम्म उचित निर्णय लिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गल्ती गरेको प्रतिक्रिया आफू निकटका नेताहरूसँग भनिसकेका छन् ।

Published : Monday, 2020 December 21, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया