गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनलाई संस्थागत विकास गर्नुपर्ने बताएका छन् ।

मंगलबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले भने, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिन्छ ।’

‘नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ’, सभापति देउवाले भने ।

‘मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भने ।

उनले भने, ‘लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् ।’

उनले भने, ‘आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरूको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरी गणतन्त्र कार्यान्वयनको लागि वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो’, सभापति देउवाले भने ।

‘यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ’, सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् ।

Published : Tuesday, 2024 May 28, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया