सरकारी गलैचा बोकेर रातारात घरतिर लागे निवर्तमान मन्त्री

काठमाडौं । निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् ।

आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् ।

निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी खोज्छ भन्दै सहयोगी युवराजले सरकारी गैलाचा नलगेको दाबी गरे ।

मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा सरकारले नै कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने गरेको छ ।

निवर्तमान मन्त्री पुनले पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । पुनले गलैचा नै नलगेको भए हुने थियो भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

यसअघिका मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएपछि सरकारी सामानहरू लगेर गएका धेरै समाचार आइसकेका छन् ।

Published : Monday, 2020 December 21, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया