कांग्रेसको निर्वाचन समितिको पत्रले सानेपामा खैलाबैला

काठमाडौं । आन्तरिक विवाद भइरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशनसहितका बाँकी काम गर्न नयाँ समिति निर्माण आग्रह गरेको छ ।

राधेश्याम अधिकारी नेतृत्वमा रहेको समितिका सदस्यहरूले कांग्रेसको केन्द्रीय कार्यालयलाई पत्र लेखेका छन् । उनीहरूले आवश्यक प¥यो भने मार्गप्रसस्त गर्न तयार रहेको उल्लेख गरेका छन् ।

पार्टीका शीर्ष नेताहरूले नै निर्वाचन समितिको कामप्रति प्रश्न उठाएको भन्दै समितिका सदस्यहरूले आफूहरू नयाँ समिति गठनका लागि मार्गप्रशस्त गर्न तयार रहेको जनाएका हुन् । उनीहरूले सो पत्र दशैँ अगाडि नै दर्ता गराएका थिए ।

पार्टीका नेताहरूबाटै समितिको निष्पक्षतामाथि प्रश्न उठेकाले सामूहिक निर्णयमार्फत १४औं महाधिवेशनको बाँकी काम र अन्य कामका लागि मार्ग प्रशस्त गर्न तयार रहेको पत्र पार्टीको केन्द्रीय सचिवालयमा दिएको जनाइएको छ ।

निर्वाचन समितिले बाँकी काम गर्न नसक्ने जनाकारी पनि सोही पत्रमार्फत दिएको जनाउँदै महामन्त्री पूर्णबहादुर खड्काले सोमबार पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको अनौपचारीक बैठकमा समितिको पत्र पढेर सुनाएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालासहित असन्तुष्ट समूहका २७ केन्द्रीय सदस्यले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएको १६ बुँदे विरोधपत्र निर्वाचन समितिमाथि पनि प्रश्न उठाएका छन् ।

शीर्ष नेताहरूबाटै विरोध भएपछि निर्वाचन समितिले यथाअवस्थामा काम गर्न नसक्ने, बरु अर्को नयाँ समिति बनाएर १४औँ महाधिवेशनको तयारी गर्न समितिका सदस्यहरूले कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।

Published : Thursday, 2020 November 5, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया