ओली–दाहाल जनताको पक्षमा काम गर्न असफलः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले जनताको काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

खतिवडाले सोमबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न नसकेको आरोप लगाए । उनले दाहाललाई पनि पार्टीका काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

‘नेकपामा दुई अध्यक्ष दुबै कार्यकारी, एक कार्यकारी प्रधानमन्त्री खड्गप्रसाद ओलीजी जो मन्त्रिमण्डल गठन गर्न र पुनर्गठन गर्न सक्दैनन् अरुको अनुमति लिनुपर्ने, अर्को कार्यकारी अध्यक्ष पुष्पकमल दाहालजी जो पार्टी निर्माण र सञ्चालन गर्न अरुको अनुमति लिनुपर्ने । यी दुई कस्ता र कस्का कार्यकारी हुन ?’, खतिवडाले प्रश्न गरेका छन् ।

ओली र दाहालले जनताको काम सहज रुपमा गर्न नसकेपछि कांग्रेसका युवा नेता खतिवडाले उनीहरूको आलोचना गरेका हुन् । खतिवडाले ओली र दाहाललाई कोरोनाका बेला निर्णय र काम गर्न कसैले पनि नरोकेको स्मरण गराएका छन् ।

कांग्रेस नेता खतिवडाले कोरोनाको निःशुल्क उपचार र परीक्षण रोक्ने सरकारको निर्णयको पनि विरोध गरेका छन् । उनले कोरोनाबाट जनता मरिरहेका बेला सरकारबाट भएका निर्णयले कम्युनिस्ट सरकार जनताप्रति गम्भीर नरहेको स्पष्ट देखाएको बताए ।

Published : Monday, 2020 October 19, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया