प्रेस युनियनका पूर्वअध्यक्ष निरौलामाथि खुकुरी प्रहार

काठमाडौं । नेपाल प्रेस युनियनले संखुवासभाका पूर्वअध्यक्ष तथा महाधिवेशन प्रतिनिधि श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उदेश्यले सांघातिक आक्रमण भएको घटनाले मर्माहत भएको जनाएको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आइतबार विज्ञप्ति जारी गरेर निरौलालाई ज्यानमार्ने उदेश्यले खुकुरी प्रहार गरेको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २ गते शुक्रबार साँझ साँढे सात बजेतिर खाँदवारी नगरपालिका वडा नम्वर ५ माल्टामा खुकुरी प्रहार गरि ज्यान मार्ने प्रयास भएको छ’, महासचिव सिवाकोटीले जनाएका छन् ।

‘खाँदवारी नगरपालिका वडा नम्वर ५ का वहालवाला कार्यवाहक वडाध्यक्ष समेत रहेका निरौलामाथि भएको यो आक्रमण मौलाउँदो दण्डहीनताको अर्को उदाहरण हो’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले आक्रमण परि गम्भीर घाइते भएका पत्रकार तथा जनप्रतिनिधि निरौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

युनियनले आक्रमण संलग्न र यसका योजनाकारहरूको खोजी तथा पहिचान गरि तत्काल कानूनी दायरामा ल्याई कानूनी राज्यको प्रत्याभुत गराउन जोडदार माग गरेका छन् ।

Published : Sunday, 2020 May 17, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया