सांसद अहपरणको अनुसन्धान पूरा, पूर्वआईजीपी र नेकपाका सांसदहरूलाई तनाब

काठमाडौं । तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाएको छ ।

सरकारी वलिकको कार्यालय काठमाडौंले अपहरण मुद्धा दर्ता गरेर अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई आदेश दिएको थियो ।

नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’विरुद्ध जाहेरी दर्ता भएको थियो ।

उनीहरू सांसद अपहरणमा संलग्न रहेको भन्दै पीडित सांसद डा.यादवले मुद्दा दिएका थिए ।

प्रहरीले घटनावारे जाहेरी लिन नमानेपछि यादवले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएका थिए ।

अपहरण अभियोग लागेका ३ जनाले गत १० वैशाखमा डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर एक होटलमा राखेको दाबी छ ।

प्रहरीको अनुसन्धानको फाइलअनुसार अब सरकारी वकिलको कार्यालयले कसरी मुद्धा अगाडि बढाउनेभन्नेबारेमा निर्णय गर्नेछ ।

Published : Sunday, 2020 May 17, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया