भारतद्वारा नेपाललाई तीस हजार कीट प्रदान

काठमाडौं । नेपाल सरकारलाई भारतले ३० हजार जनाका लागि परीक्षण क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट उपहार स्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आइतबार उपलब्ध गराएका हुन् ।

माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरू हस्तान्तरण गरिएको हो ।

टेस्ट कीटहरूको सहयोगले ३० हजारको पीसीआर परीक्षण गर्न सकिने भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि गत वैशाख १० मा राजदूत क्वात्राले भारत सरकारका तर्फबाट २३ टन औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ, ‘औषधि र कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीबिरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्शाउँछ ।’

गत चैत्र २ मा भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रहरूका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसंगै यी पहलकदमीको शुरुवात भएको उल्लेख गर्दै दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार यो चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।’

Published : Sunday, 2020 May 17, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया