नेपालमा कोरोना फैलिएको चार महिनापछि महिलाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोककी २९ वर्षीया महिला सावित्री तिमिल्सिनाका कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

मितिल्सिना कोरोनाबाट मृत्यु हुने नेपालमा पहिलो हुन् । बाह्रबिसेकी तिमिल्सिनाको बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा संक्रमण भित्रिएको झण्डै चार महिनापछि कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ ।

चीनको वुहानबाट फर्किएका जनकपुरका एक युवामा ९ माघमा पहिलो संक्रमण देखिएको थियो ।

दुई हप्ता उपचार गरेपछि उनी निको भएर घर फर्किएका थिए । शनिबारसम्म देशभर संक्रमितको संख्या दुई सय ८१ पुगेको छ ।

वैशाख २४ गते काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत उनले बच्चा जन्माएकी थिइन् ।

वैशाख २५ गते डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी वैशाख २८ गते बाह्रबिसेस्थित घर गएकी थिइन् ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिन थालेपछि तिमिल्सिनाले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण देखिएको र समस्या बढ्दै गएपछि बिहीबार उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो ।

बीचबाटोमै उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेल अस्पताल लगिएको थियो । बाटोमै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालले उनको नमूना केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाएको थियो ।

त्यहाँको रिपोर्ट पनि पोजेटिभ आएको थियो । संक्रमणबाट जोगिन अस्पतालले परिवारका सदस्यलाई मृतकको छेउमा जान दिएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सचालक, परिवारका सदस्य र सदगदमा सहभागी हुने मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई अनिवार्य प्रयोग गर्नुपर्ने बताए । (तस्वीर सामाजिक सन्जालबाट साभार)

Published : Sunday, 2020 May 17, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया