कोरोनासँग ठूलो संघर्ष गरेको इटालीमा आवत जावत गर्न दिइने

इटाली । कोरोना भाइरसको संक्रमणबाट कडा संघर्ष गरेको इटालीले अबको १५ दिनपछि आवतजावत खुला गर्ने सहमति दिएको छ ।

इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने निर्णयमा सहमति दिएको हो ।

कोरोना भाइरसका कारण कडा लकडाउन गरेको इटाली हाल त्यसलाई सहज पार्ने प्रक्रियामा छ ।

इटालीका नागरिकलाई देशबाहिर जान र अन्य देशका नागरिकलाई इटाली आउन कुनै रोकतोक हुनेछैन् ।

सरकारले सोही दिनदेखि देशभित्रको यात्रामाथि लाग्दै आएको रोक पनि हटाउने भएको छ ।

त्यहाँका केही क्षेत्रहरूले सामान्यतर्फ फर्किने प्रयास गरिरहेको भएपनि प्रधानमन्त्री जुसेपे कोन्टेले संक्रमणको दोस्रो लहर नआउन दिन क्रमिक हिसाबले सामान्य अवस्थामा फर्किनुपर्नेमा जोड दिदैं आएका छन् ।

इटालीमा मात्र कोरोनाको संक्रमणबाट ३१ हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ । मृतकहरूको यो संख्या संयुक्त राज्य अमेरिका र बेलायत पछि विश्वमा तेस्रो धेरै हो ।

भाइरस संक्रमण रोकथामका लागि देशव्यापी प्रतिबन्ध लगाउने राष्ट्रमध्ये इटाली पहिलो युरोपेली राष्ट्र हो । मे ४ देखि मात्रै त्यहाँका केही कारखाना र पार्कहरु खोल्ने अनुमति दिइएको थियो ।

आवत जावत खुकुलो बनाएपन सुरक्षासम्बन्धी नियमको पालना गर्नपर्नेछ । ती प्रावधानहरूको ध्यान राखिए–नराखिएको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले अनुगमन गर्नेछन् ।

Published : Saturday, 2020 May 16, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया