लकडाउनमा रक्सीले मात्तिएका बस सञ्चालकको कारमा ‘प्रेस’, दुर्घटना भएपछि खुल्यो भेद

तुलसीपुर । लकडाउनका बेला दाङ जिल्लामा कालिका मालिका प्रालिका अध्यक्ष दिलिप बिकले प्रेस लेखेर चलाएको कार दुर्घटनामा परेको छ ।

कार दुर्घटना भएपछि अध्यक्ष बिक फरार भएका छन् । प्रेसको दुरुपयोग गर्दै बिकले चलाएको कार तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराको ओरालोमा बुधवार दुर्घटनामा परेको थियो ।

तुलसीपुर बजारतर्फ आउँदै गरेको बा ११ च ३७०३ नम्वरको कार बेलुका साढे ७ बजेतिर दुर्घटनामा परेको थियो ।

मदिराले मातेर चालकले कार चलाएको हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

घटनाका प्रत्यक्षदर्सी स्थानीयले पनि कारवाट दुई–तीन जन झरेको र उनीहरू लरखराउँदै निस्किएर हिडेको जानकारी दिएका छन् ।

कार सडकपार गरेर नालीमा पुगेको छ । कारमा क्षति भएको छैन ।

मानिसहरुलाई पनि चोटपटक लागेको छैन । प्रेसको दुरुपयोग गरेर कार चलाउने बिकलाई भने बिहीबार बिहान सवा १० बजेसम्म पनि प्रहरीले फेला पार्न सकेको छैन ।

बिक लगायत कारमा सवार व्यक्तिहरूको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लकडाउनको समयमा प्रहरीले चेकजाँचका क्रममा एकजना यस्तै नक्कली प्रेस लखेको मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

ती युवाले रिपोटर्स क्लव नेपालको नक्कली प्रेस पास बोकेका थिए ।

दाङको जंगलमा सिकार खेल्न गएका व्यक्तिले समेत मोटरसाइकलमा प्रेस लेखेको अवस्थामा वनको टोलीले फेला पारेर नियन्त्रणमा लिएको थियो ।

उल्लेखित घटनाहरूले तुलसीपुर क्षेत्रमा प्रेसको दुरुपयोग बढ्दै गएको देखिएको भएपनि सरोकारवाला निकाएले भने त्यसप्रति मौनता प्रदर्शन गर्दै आएका छन् ।

Published : Thursday, 2020 May 14, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया