सामान्य लापरबाहीले वडाध्यक्ष ३ दिन जेलमा बस्नुपर्ने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वडाध्यक्ष रवि तामाङलाई पक्राउ गरेको छ ।

आइतबार जुगल गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङ बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा तामाङलाई ३ दिन कैद र ९ लाख ९० हजार रुपियाँ जरिवाना तोकेको छ । अदालतको फैसलापछि तामाङ फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव नेतृत्वको टोलीले तामाङलाई वडा कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तामाङले जरिवाना तिरेको खण्डमा ३ दिनभित्र रिहाइ हुनेछन् । जरिवाना तिर्न नसकेमा दैनिक ३ सय रुपियाँका दरले कट्टी हुनेगरी जेल नै बस्नुपर्ने जिल्ला अदालत सिन्धुपाल्चोककी तहसिलदार कल्पना अर्यालले बताएकी छिन् ।

वडाध्यक्ष तामाङ नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । तामाङले लापरबाही गरेका कारण बैंकिङ कसूरमा सजाय पाएका छन् । करीव १० लाख रुपियाँ समयमा तिरेको भए तामाङलाई अहिले यो अवस्था आउने थिएन ।

Published : Monday, 2024 April 29, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया