किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोदद्वारा खाद्य सामग्री सहयाेग

लगनखेल । ललितपुरको लगनखेल डोजोका प्रमुख प्रशिक्षक तथा किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनको अभियानमा खाद्य सामग्री सहयोग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले लगनखेल डोजोमा एक महिनाभन्दा धेरै समयदेखि लकडाउनबाट समस्यामा परेकाहरूलाई निःशुल्क खाना खुवाउँद आएका छन् । उनको सो अभियानलाई सहयोग गर्न विनोदले सहयोग गरेका हुन् ।

महर्जनले लकडाउनबाट समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा मागेर गुजारा गर्नेहरूलाई साँझ र बिहान खाना खुवाउने गरेका छन् ।

लगनखेल डोजोका विनोदले कांग्रेसका युवा नेता महर्जनको अभियानलाई सहयोग गर्न आइतबार खाद्य सामग्री उपलब्ध गराएका हुन् ।

विनोद महर्जनले १२ बोरा चामल, १ बोरा दाल, १ कार्टुन तेल, १ कार्टुन नुन, १५ दिनलाई पुग्ने मसला उपलब्ध गराएका छन् ।

विनोद नेपाल तरुण दल ललितपुरका उपाध्यक्ष समेत हुन् । विनोद ललितपुर किक बक्सिङ संघका जिल्ला अध्यक्ष समेत हुन् ।

विनोदले राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ स्वर्ण पदक हासिल गरिसकेका खेलाडी समेत हुन् ।

कांग्रेस नेता महर्जनको अभियानलाई नेपाली कांग्रेस गोदावरीका नगर सभापति सुरज श्रेष्ठ नेपाली कांग्रेस ललितपुरका क्षेत्रीय सदस्य सरोज कायस्थ, नेपाल विद्यार्थी संघ ललितपुर जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दीपक घिमिरे, ललितपुर तरुण दलका जिल्ला सह–सचिव रामकृष्ण घिमिरे, जिल्ला सदस्य द्वारिका श्रेष्ठ र करातेका खेलाडीहरूले दैनिक खाना पकाएर खुवाउने काममा सहयोग गर्दै आएका छन् ।

Published : Sunday, 2020 May 10, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया