भारतले लिपुलेक कब्जा गरेकै बेला चीनको मिडियाद्वारा सगरमाथा चीनमा पर्ने दाबी

काठमाडौं । भारतले नेपाको भू–भाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सञ्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भनेर समाचार लेखेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् ।

६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न शुरु गरेको छ ।

त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

Published : Sunday, 2020 May 10, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया