अत्याचार र सबै दमनहरूको अन्त्य होस्ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैले बुद्धका उपदेशलाई पालन गरेर देशमा शान्ति कायम गर्न लाग्नुपर्ने बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले देशमा भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउनुपर्ने बताएका छन् ।

उनले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताएका छन् ।

‘कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो’, उनले भने, ‘विगतका वर्षहरू अशान्ति र द्वन्द्वबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरूबाट मुक्त हुन सकेको छैन ।’

‘शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरू रहेका छन्’, देउवाले भनेका छन्, ‘हिंसा, हत्या, अपहरण जस्ता मानवअधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।’

उनले नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस (कोभिड १९) बाट प्रताडित बनेको समेत उल्लेख गरेका छन् ।

‘लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता हो’, देउवाले भनेका छन् ।

‘उच्च मनोवलका साथ आपसी सहकार्य र एकता विना यो कार्य सम्भव छैन’, उनले भने, ‘यसमा हामी सबै सचेत छौं भन्ने कुरामा म विश्वस्त छु ।’

‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं’, उनले भने, ‘अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना ।’

Published : Thursday, 2020 May 7, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया