कोरोनाबारे मुस्लिमहरूलाई आरोप लागेपछि अन्सारीले दिए जवाफ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगद्वारा गठन गरेको सबै तहका अनुगमन समितिहरूले मुस्लिम बस्तीहरूमा जनचेतनामूलक अनुगमन गर्दै आएको जनाएका छन् ।

अध्यक्ष अन्सारीले बुधबार प्रेस नोट जारी गरेर रमजानमा मस्जिदहरूमा मुस्लिम समुदायको गतिविधि बढी हुनसक्ने भएकोले मस्जिदहरूमा भीड कम गर्न, सामाजिक दुरी कायम गराउन र मुस्लिम समुदाय विशेषलाई लक्षित गरी फैलाइएको भ्रम चिर्न समेत अनुगमन भइरहेको जनाएका हुन् ।

उनले ती अनुगमन स्थानीय प्रशासन, स्थानीय निकाय र स्वास्थ्य मन्त्रालयको समन्वयमा भइरहेको जनाएका छन् ।

अनुगमन समितिहरू पूर्ण रूपमा स्वयंसेवाबाट अभिप्रेरित भएर काम गरिरहेको अन्सारीले जनाएका छन् ।

‘आयोगको अनुगमनले राज्यलाई सहयोग पुगेको छ’, उनले भने, ‘बाँकेमा आयोगको अनुगमनमार्फत् संक्रमित व्यक्तिहरू पत्ता लागेका छन् । सरकारले त्यही अनुसार अन्य सावधानीहरू अपनाएको छ ।’

अध्यक्ष असन्सारीले आयोगको पहलमा केही ठाउँमा मात्र राहत वितरण भएको स्वीकार गरेका छन् ।

‘अनुगमन समितिमार्फत् कुनै राहत वितरण गर्न आयोग हाललाई असमर्थ छ’, उनले भने, ‘यद्यपि राहतको लागि कोष जुटाउन प्रयास भने जारी छ ।’

‘सामाजिक सद्भावप्रति आयोग सजग छ’, उनले भने, ‘लकडाउनलाई सफल गराउन राज्यलाई आयोगको सहयोग रहनेछ ।’

Published : Wednesday, 2020 May 6, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया