ललितपुर २ का तरुण अध्यक्षद्वारा महर्जनको अभियानमा साथ, उपलब्ध गराए खाद्यान्न

लगनखेल । राष्ट्रिय खेलकुद परिषद पूर्वकोषाध्यक्ष एवम् कराते पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको अभियानलाई साथ दिँदै किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवम् नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर २ अध्यक्ष नवीन्द्रदेव सिंहले खाद्य सामग्री उपलब्ध गराएका छन् ।

ललितपुरको लगनखेल डोजोका संथापक समेत रहेका महर्जनलाई अध्यक्ष सिंहले बुधबार खाद्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव समेत रहेका महर्जनले चार हप्तादेखि लगनखेल डोजोमा लकडाउनका कारण समस्यामा परेका ३०–४० जना मजदुर र मागेर गुजारा गर्ने व्यक्तिहरूलाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।

आसपासका मन्दिर र सडकमा मागेर गुजारा गर्ने तथा मजदुरी गर्नेहरूलाई साँझ र बिहान खान समस्या भएपछि महर्जनले लगनखेल डोजोमा खानपानको व्यवस्था गरेका हुन् ।

पूर्व बक्सिङका खेलाडी समेत रहेका ललितपुर क्षेत्र नम्बर २ का अध्यक्ष सिंहले महर्जनलाई ७ बोरा चामल, १ कार्टुन तेल, १ बोरा दाल, नुन, मसला लगायत करीव ५० हजार बराबरको खाद्यान्न उपलब्ध गराएका हुन् ।

विगतमा सिंह कराते तथा किक बक्सिङ खेलको उत्कृष्ट खेलाडी थिए । तरुण अध्यक्ष सिंह किक बक्सिङमा महर्जनका चेलासमेत हुन् ।

सिंह ललितपुरमा युवा समाजसेवीको रुपमा परिचित छन् । सिंहले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लुभु लगायत अन्य ठाउँमा पनि बिपन्न परिवारलाई राहत बितरण गर्दै आइरहेका छन् ।

कांग्रेसका युवा नेता महर्जनले लकडाउनको समयभरि निःशुल्क खाना खुवाउने बताएका छन् । महर्जनका साथीभाइहरूले उनको अभियानलाई बेलाबेला सहयोग गर्दै आइरहेका छन् ।

यसैवीच, भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीले पनि महर्जनलाई खाद्य सामग्री उपलब्ध गराएका छन् । शाहीले बुधबार लगनखेल डोजोमा आएर दश बोरा चामल, एक बोरा दाल, एक कार्टुन तेल र तरकारीहरू उपलब्ध गराएको महर्जनले बताए ।

Published : Wednesday, 2020 May 6, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया