खड्गप्रसाद ओलीलाई होइन, कम्युनिस्टहरूलाई फाल्नुपर्छः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेकपाभित्रको प्रधानमन्त्रीको कुर्सीको खेलमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।

रिपब्लिका दैनिकसँग शनिबार कुरा गर्दै चौधरीले जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउने जिम्मेवारी दिएकाले कांग्रेस प्रधानमन्त्री हटाउने वा नहटाउने भन्ने खेलमा नरहेको बताए ।

‘कांग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बसेर सरकारको कमिकमजोरीविरुद्ध खबरदारी गर्न निर्देशन दिएका छन्’, उनले भने, ‘खड्गप्रसाद ओलीलाई फाल्ने वा नफाल्ने कुरासँग कांग्रेसको कुनै अर्थ रहँदैन । ओलीलाई फालेर अर्कोलाई ल्याउँदैमा देशको आमूल परिवर्तन हुन्छ भन्ने पनि लाग्दैन ।’

मुलुकमा कम्युनिस्ट सरकारनै अफापसिद्ध भइसकेको भन्दै कांग्रेस नेता चौधरीले अबदेखिबाट कम्युनिस्ट उन्मुलन आवश्यक रहेको बताए । महामारीको संकटका बेला समस्यामा परेका जनताको आवाज नसुन्ने कम्युनिस्ट र कम्युनिस्ट सरकारलाई देशमा राख्नुको आवश्यक्ता नरहेको उनले बताए ।

पूर्वसांसद समेत रहेका कांग्रेसका नेता चौधरीले कम्युनिस्ट सरकारसँग जनता आजित बनेको भन्दै कोरोना भाइरसविरुद्ध लड्ने बेला सत्ताको खेलमा लागेको आरोप लगाए । उनले भने, ‘जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचाउने बेला नेकपाका नेताहरू सत्ताको खेलमा लागेका छन् । यो कार्य अत्यन्तै गलत छ ।’

उनले लकडाउनका कारण भारतमा समस्यामा परेका गरिव जनतालाई उद्धार गर्नुपर्ने बताए । चौधरीले सिमानामा आएर दुःख पाएका नागरिकको समस्या समाधान गर्नेतिर सरकारले चासो नदिएको आरोप लगाए ।

‘चीनमा रहेका धनी व्यक्तिका छोराछोरीलाई सरकारले जहाज पठाएर ल्यायो’, उनले भने, ‘भारतमा मजदुरी गर्ने गरिव जनताको बोल्न र उद्धार गर्ने कोही पनि छैन । यो कम्युनिस्ट सरकारले धनीका छोराछोरीको मात्रै उद्धार गर्छ । गरिव जनताको आवाज सुन्दैन ।’

कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनबाट खरिद गरिएको भनिएको स्वास्थ्य सामग्रीमा करोडौं रुपियाँ भ्रष्टाचार भएको भन्दै कांग्रेस नेता चौधरीले दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताए ।

‘चीनबाट खरिद भएको सामग्री प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘कमसलखालको स्वास्थ्य सामग्रीलाई महँगामो खरिद गरेको भनेर स्वयं सरकारले नै खारेज गरेको छ ।’

जनताको स्वास्थ्यमाथि कम्युनिस्ट सरकारले ठूलो खेलवाड गरेको नेता चौधरीले बताए । उनले कोरोना भाइरसको संक्रमणका बेला पनि कम्युनिस्टहरू कमिशन र भ्रष्टाचारमा लिप्त हुन जनतामाथि ठूलो विश्वासघात भएको बताए ।

कम्युनिस्ट सरकार काण्डैकाण्ड, भ्रष्टाचार र अनियमिततामा परेको भन्दै कांग्रेस नेता चौधरीले जनताले उनीहरूलाई भ्रष्टाचार गर्नका लागि बहुमत नदिएको बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशन प्रकरण बाहिर आउँदा मन्त्री हट्नु परेको प्रशंग कोट्याउँदै उनले यस्ता कयौँ काण्डहरू रहेको बताएका छन् ।

Published : Saturday, 2020 May 2, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया