१० देखि १२ सम्मको परीक्षा विद्यालयलाई गर्न दिनुपर्छः नैनसिंह महर

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कोरोना भाइरसको संक्रमण र लकडाउनले शैक्षिक क्षेत्र निकै प्रभावित बनेको भन्दै चिन्ता जनाएका छन् ।

शनिबार प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सुझाव दिँदै कांग्रेसका युवा नेता समेत रहेका नेविसंघका पूर्वअध्यक्ष महरले लामो समयसम्म पठन पाठन अबरुद्ध हुँदा विद्यार्थीमा मानसिक तनाब हुने बताएका हुन् ।

कक्षा १०, ११ र १२ का १५ लाखभन्दा बढी विद्यार्थी नियमित परीक्षा हुन नसक्दा मानसिक तनावमा रहेको उनले बताएका छन् ।

उनले यी यस्ता समस्यालाई मध्यनजर गर्दै भर्चुअल कक्षाका लागि निःशुल्क इन्टनेटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

महरले कक्षा दशको परीक्षा सम्बन्धित विद्यालयले लिई नतिजा प्रकाशन गर्नेसम्मको अधिकार सरकारले विद्यालयलाई दिनुपर्ने सुझाव दिएका छन् ।

‘भर्चुअल कक्षाका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्नु पर्दछ’, उनले भनेका छन् ।

‘कक्षा १० को परीक्षासम्बन्धित विद्यालयमा लिने वा सोही विद्यालयले परीक्षा लिने र नतिजा प्रकाशनसम्मको अधिकार पाउनु पर्दछ’, महरको सरकारलाई सुझाव छ ।

‘कक्षा ११ को परीक्षा लिने र नतिजा प्रकाशन गर्ने लगायतको सबै जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनुपर्दछ’, उनको सुझावमा उल्लेख छ ।

उनले कक्षा १२ को परीक्षा सम्वन्धित विद्यालयमै लिने वा पुरानै अनुसार सञ्चालन गर्ने प्रवन्ध मिलाउनुपर्ने बताएका छन् ।

‘विद्युत र इन्टरनेट नभएको ठाउँमा घुम्ती कक्षा सञ्चालन गर्नु पर्दछ’, उनले भनेका छन् ।

‘विद्यार्थीको पढाई र सिकाइको बारेमा सञ्चार माध्यम र सबै प्रकारका फोनहरूमा अभिभावकको जिम्मेवारी बारेका सूचना मुलक सन्देश दिनु पर्दछ’, सुझावमा उल्लेख छ ।

‘शिक्षित अभिभावकलाई घरमै कक्षा लिन अनुरोध गर्नुपर्दछ’, नेविसंघका पूर्वअध्यक्ष महरले भनेका छन् ।

Published : Saturday, 2020 May 2, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया