अमेरिकाले कोरोनाविरुद्ध ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्ने

न्युयोर्क । कोरोना भाइरसको संक्रमणको उपचारमा अमेरिकाले इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति दिएको छ ।

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले सो औषधि प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

कोभिड– १९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा रेम्डेसिभिर एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ ।

एफडीएको आपत्कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन । औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक पर्छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओ डेले एफडीएको स्वीकृती महत्वपूर्ण पहिलो कदम भएको बताएका छन् ।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि अध्ययन गरेको थियो ।

अध्ययनले त्यो औषधि प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस संक्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरेको छ ।

रेम्डेसिभिरले निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्षको उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको बताइएको छ ।

Published : Saturday, 2020 May 2, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया