एनआरएनएका आचार्यलाई कोरोनाको संक्रमण, विदेशमा रहेका ईच्छुक नेपालीलाई उद्धार गरौँ

लण्डन । नेपाली कांग्रेसका नेता एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

संक्रमण भएपछि आचार्य आइसोलेसनमा उपचार गराइरहेका छन् । ‘म आफै पनि केही लक्षणहरू देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु’, उनले भनेका छन् ।

‘हिजो बिबिध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरूको योगदान अवस्य पनि उल्लेखनीय छ’, उनले भनेका छन् ।

‘प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन्’, आचार्यले भने, ‘स्थानीय प्रतिनिधिहरूले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् ।’

‘ती अधिकांश नागरिकहरू घर फर्किन चाहेका छन् । साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन्’, आचार्यले भने, ‘राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर रहेको छ ।’

‘आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग अनुरोध गर्दछु’, आचार्यले भनेका छन्, ‘म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।’

आचार्यले घर फर्किन चाहने प्रवासीहरूलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्‍याउन के–के गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी रहेको बताएका छन् ।

‘हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु’, उनले भने ।

‘बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ ’, उनले भने, ‘हामीले भूपू गोर्खाहरुको बिशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ ।’
‘अनि बेलायत सरकारलाई तिनको बिशेष हेरचाहको लागि पनि अनुरोध गर्नुपर्ने अवस्था छ’, आचार्यले भनेका छन् ।

‘अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतीपय कागÞजÞको समस्याले अप्ठेरोमा परेकाहरूलाई सहयोग जरूरी देखिएको छ’, आचार्यले भने ।

‘बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली विद्यार्थीले दुःख भोगी राख्नु भएका खबरहरु आएका छन्’, उनले भने, ‘विद्यार्थीलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरूलाई हार्दिक नमन गर्दछु । उहाँहरूलाई उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।’

‘यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं । यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो’, उनले भने, ‘कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमिको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।’

‘दुःखमा परेका प्रवासका नेपालीहरूलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु’, आचार्यले भनेका छन् ।

Published : Sunday, 2020 April 19, 7:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया