तुलसीपुरबाट गाडीको व्यवस्था गरी एकसय पैदल यात्रुको उद्धार

तुलसीपुर । देशका विभिन्न ठाउँबाट दाङको तुलसीपुरमा आइपुगेका नागरिकहरूलाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पुर्‍याइएको छ ।

उनीहरूलाई उपमहानगरपालिकाको पहलमा सल्यान, रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।

रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक, धादिङ्ग, काठमाडौंलगायत पुगेका उनीहरू शुक्रबार पैदल हिँडेर तुलसीपुर आइपुगेका थिए ।

तुलसीपुरस्थित वीरेन्द्र चोकमा अलपत्र अवस्थामा परेका १ सय ९ जनालाई सम्बन्धित गाउँपालिका र नगरपालिकाको सहकार्यमा गन्तव्यसम्म पुर्‍याइएको छ ।

यात्रुहरूलाई पठाउनका लागि तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी, नेपाल रेडक्रस दाङका विश्राम अधिकारी, न्युज २४ टिभी जर्नलिस्ट सुरेश श्रेष्ठले पहल गरेका थिए ।

त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले बस सहयोग गरेका थिए । सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडीको व्यवस्था गरेको थियो ।

उनीहरू १० दिनसम्म हिडेर तुलसीपुर आएका थिए । बाटो खर्च नहुँदा उनीहरू चाउचाउको भरमा तुलसीपुरसम्म आएको बताएका छन् ।

अलपत्रहरूलाई वडाध्यक्ष वीरेन्द्र शाह लगायत विभिन्न समाजसेवीहरूले खानाको व्यवस्था गरेका थिए ।

Published : Saturday, 2020 April 18, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया