तरुण, शिक्षक र कांग्रेस नेताहरूले दिए जलजलालाई आर्थिक र खाद्य सहयोग

पर्वत । नेपाली कांग्रेसका शुभेच्छुक र भ्रातृ संस्थाहरूले पर्वत जिल्लाको जलजला गाउँपालिकाले स्थापना गरेको आपतकालीन राहत कोषमा आर्थिक सहयोग रकम जम्मा गरेका छन् ।

आपतकालीन राहत कोषमा शुक्रबार कांग्रेस जलजला गाउँकार्य समितिले ८० हजार हस्तान्तरण गरेका छन् ।

कोषमा नेपाल शिक्षक संघ जलजलाले ४० हजार र नेपाल तरुण दल जलजलाले ३० हजार रूपियाँ सहयोग गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिए ।

मल्लाज भगवती मन्दिर पूजा व्यवस्थापन समितिले समेत कोषमा १० हजार रूपियाँ सहयोग गरेको छ । अध्यक्ष मल्लले कोरोना भाईरसको संक्रमणविरूद्धको अभियानमा सहयोगले नागरिकलाई सहायता पुर्‍याउन सहयोग हुने बताए ।

उनले कांग्रेस निकटका संघ संस्थाले कोषमा सहयोग गर्ने कार्यलाई अनुकरणीय भएको बताएका छन् । ‘विपत्तिमा जलजला मात्रै नभएर देशव्यापी रुपमा कांग्रेसले देखाएको सहयोग र सदाशयता निकै प्रशंसनीय छ’, गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता मल्ले भने ।

अध्यक्ष मल्लले जिल्लाका अन्य स्थानीय तहमा समेत आफूले पनि व्यक्तिगत रुपमा समेत सहयोग गर्दै आएका छन् । जलजला गाउँपालिकाले आफ्नो कोषमा यसअघि ३० लाख राखेको थियो ।

कोषमा अध्यक्ष मल्लले व्यक्तिगत रुपमा दुई लाख नगद सहयोग गरिसको छन् । मल्ले कोषमा सहयोग गर्न सबैलाई अपील गरेका छन् । जलजला गाउँपालिकाभित्र मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूलाई राहत दिने मल्लले बताए ।

गाउँपालिकाले मोहनचोकमा २० बेडको क्वारेन्टाइन स्थापना गरेको छ । कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लागि ७ लाख रूपियाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यसैवीच, युवा व्यवसायी विप्लव हमालले जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको खाद्य बैंकमा २५ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेका छन् ।

हमालले दाल, चामल, नुन, तेल, साबुन उपलब्ध गराएका हुन् । लकडाउनका कारण समस्यामा परेका जलजला गाउँपालिकाको वडा नम्बर ८ का अति विपन्न र मजदुरहरूलाई सो खाद्यान्न वितरण गरिनेछ ।

सो सहायता लिनका लागि वडा नम्बर ८ का वडाध्यक्ष अध्यक्ष हरिविकास जिसीलाई ९८५७६२२६५६ र वडा सचिव कृष्णप्रसाद रिजाललाई ९८५७६३०७९३ सम्पर्क गर्न भनिएको छ ।

Published : Saturday, 2020 April 11, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया