गोविन्दजीबाट त्यस्तो काम हुन्छ भनेर कसैले पनि पत्याउँदैनः मेयर राउत

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीले मेयर घनश्याम राउतले आफूमाथि लगाएको माक्स लुकाएको आरोपको छानविन गर्न चुनौती दिएका छन् ।

वडध्यक्ष पहाडीले वडा नम्बर १ मा मेयर राउतले पठाएको मास्कका विषयमा यथार्थ कुरा जनतमा ल्याउन छानविन गर्न माग गरेका हुन् । उनले भने, ‘मेयरले कति मास्क पठाउनुभएको थियो ? मैले कति पाएँ ? कति वितरण गरेँ ? छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’

दुधौली नगरपालिकाका मेयर राउतले वडा नम्बर १ मा बितरण गर्न पठाएको २५ सय माक्समध्ये १५ सय माक्स बितरण गरेर अरु लुकाएको भन्ने आरोप सरासरी झुठो र भ्रमपूर्ण भएको वडाध्यक्ष पहाडीले बताए ।

‘नगरपालिका अब छानविनको प्रकृयामा जानु पर्‍यो, पुष्टि गर्न सक्नु पर्‍यो’, पहाडीले मेयर राउतलाई चुनौती दिँदै भने, ‘मेयरले कति मास्क पठाउनुभएको हो ? भरपाई गरेर वडालाई बुझाएको प्रमाण देखाउनु पर्‍यो । मेयर जस्तो जिम्मेवार पदमा बसेर हावातालमा बोल्नुभएन ।’

वडाध्यक्ष पहाडीले आफूलाई फसाउने ढंगले मेयर राउतले काम गरेको आरोप लगाएका छन् ।

‘नगरपालिकाले ल्याएर छाडि दिएको माक्स वडा नम्बर १ मा १३ वटा टोल सुधार समितिमार्फत भरपाई र सहिछाप गरी बितरण गरेका छौं’, उनले भने, ‘मेयरले कति पठाउनु भएको हो ? त्यहीँबाट छर्लंग हुन्छ ।’

वडाध्यक्ष पहालडीले वडा नम्बर १ ले १५ सय माक्स बितरणपछि अपुग भयो भनेर मेयरसँग थप मास्क माग गरिएको बताए । तर, मेयर राउतले अरु दुई हजार माक्स कार्यपालिका सदस्य एवम् नेकपाका नेता डिल्लीबहादुर भुजेलमार्फत पठाएर नेकपाले वितरण गरे जसरी नगरपालिकाको मास्क वितरण गरेको आरोप कांग्रेसको छ ।

कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष पहाडीले दुधौली नगरपालिकाले जनप्रतिनिधिलाई दिएको सुविधा मोटर साईकल शुरुमै फिर्ता गरेका थिए । उनले अहिलेसम्म नगरपालिकाबाट पाउने भ्रमण भत्ता (टीएडीए) लिएका छैनन् ।

मोटर साईकल सुविधा र भ्रमण भत्ता समेत अहिलेसम्म नलिएका वडाध्यक्ष पहाडीमाथि एक हजार माक्स लुकाएको आरोप लगाउनु आफै लाजमर्दो कुरा भएको वडासचिव हेरम्बराज अधिकारीले बताएका छन् ।

‘२५ थान माक्स रहेको ६० वटा पोका १३ वटा टोल सुधार समितिलाई भरपाईसहित बितरण गरेका छौँ’, वडासचिव अधिकारीले भने, ‘धेरै घरधुरी हुने टोलसुधार समितिलाई पाँच पोका, थोरै घर धुरी हुने टोलसुधार समितिलाई चार पोकाका दरले बाँडेका छौँ । सकिएपछि गन्दा १५ सय मात्रै मास्क भेटिएको थियो । सबै वितरण गरिएको छ ।’

दुधौली नगरपालिकाका मेयर राउतले एउटा स्थानीय अनलाइन सिन्धुलीसौगातसँगको कुराकानीमा यो बेला माक्समा विवाद नै गर्नु नहुने बताएका छन् । ‘यो अनावश्यक मिडिया बाजी मात्रै बढी भएको हो’, राउतले भने, ‘यहाँ अलीबढी प्रचारबाजी भएको छ ।’

‘छानविन गर्दा पनि कोरोना भाइरसको संक्रमण अन्त्य भएपछि गर्नुपर्ने राउतले बताएका छन् ।

‘गोविन्दजीबाट त्यस्तो काम हुन्छ भनेर कसैले पनि पत्याउँदैन, व्यक्तिगत रिसिवी साँध्ने हो भने जे भनेपनि भयो’, मेयर राउतले भने, ‘कार्यपालिका बैठकमा नै मैले भनेको छु, तपाइँमाथि पूर्ण विश्वास छ । घोटला छैन भनेर ।’

मेयर राउतले माक्स ल्याएर राखेको ठाँउमा केही साथीले माक्स त हो नी भनेर झिकेर बाँडेको हुन सक्ने आफ्नो अनुमान रहेको बताएका छन् ।

‘गोविन्द जीले माक्स लुकाएर लानु भयो, बेच्नु भयो भन्ने पनि होइन’, राउतले भने, ‘त्यो माक्स भनेको रुपियाँ–पैसा पनि होइन लुकाउनुपर्ने । मिसप्लेस भएको हुन सक्छ ।’
उनले कतिपय काम विश्वासले गर्नुपर्ने भएकाले भरपाई नगरी माक्स पठाएको बताएका छन् ।

Published : Friday, 2020 April 10, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया