यी हुन् कांग्रेसका दिलदार नेता एवम् जलजलाका अध्यक्ष, दिए आठ क्वीन्टल तरकारी र नगद

पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल ‘रामकृष्ण’को सहयोग र सक्रियता आफ्ना गाउँपालिकाका सर्वसाधरणहरूलाई सहायता वितरण गर्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लकडाउन भएका बेला अध्यक्ष मल्लले अन्य जनप्रतिनिधिको तुलनामा गाउँपालिकाका अति विपन्नहरूलाई सहायता प्रदान गर्दै आएका हुन् ।

अध्यक्ष मल्लले आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका नागरिकका लागि समेत राहत र सहयोग गर्दै आएका छन् ।

अध्यक्ष मल्लकै नेतृत्व र अग्रसरतामा कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्ने गरी बिहीबार आठ क्वीन्टल तरकारी संकलन गरी कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म र सापकोटा कृषि फार्मले उत्पादन गरी सहयोग गरेको तरकारी गाउँपालिकाले ढुवानी खर्च ब्यहोरेर कुश्मा नगरपालिकाका बिपन्न परिवारलाई बितरण गर्नेगरी कुश्मा नगरपालिकाको खाद्य सामग्री बैंकलाई हस्तान्तरण गरिएको हो ।

तरकारी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई जलजला गाउँपालिकाका अध्यक्ष मल्लले बिहीबार हस्तान्तरण गरेका हुन् ।

जलजला गाउँपालिकाका सुवेदी र सापकोटा कृषि फार्मले उत्पादन गरेको बन्दा, साग, धनियाँसहितका तरकारी संकलन गरि कुश्मा नगरपालिका र अन्य बस्तीहरूमा सहयोग स्वरूप हस्तान्तरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

शालिजादेखि कुश्मासम्म ल्याउनका लागि ढुवानी खर्च जलजला गाउँपालिकाले ब्यहोरेको थियो ।

लकडाउनको अवधिमा गरिब र बिपन्न परिवारलाई तरकारी जस्तो सामान्य कुरा पनि किन्नका लागि आर्थिक अभाव हुने भएकाले थोरै भएपनि सहयोग होस भनेर उपलब्ध गराएको अध्यक्ष मल्लले बताए ।

उनले अझै तरकारी बितरण गर्ने योजना रहेको पनि बताए । मल्लले बिहीबारनै कुश्मा नगरपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा ३० हजार रुपियाँ नगद समेत प्रदान गरेका छन् ।

मल्ले उक्त रकम कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरेका हुन् ।

मल्लले यसअघि व्यक्तिगत रुपमा जलजला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा दुई लाख र नेपाली कांग्रेस महाशिला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा व्यक्तिगत रुपमा नगद ३० हजार रुपियाँ प्रदान गरिसकेका छन् ।

जलजला गाउँपालिकाले जलजला वडा नम्बर ३ का गरिब तथा बिपन्न परिवारलाई राहत बितरण गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष देबेन्द्रबहादुर भण्डारी ‘रवि’ले जानकारी दिएका छन् ।

Published : Thursday, 2020 April 9, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया