सरकारलाई कांग्रेसकाे साथ, चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको बर्गलाई राहत दिन सुझाव

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोबिड १९) को जोखिम सामना गर्न सरकारले घोषणा गरेको लकडाउनको निर्णयलाई आत्मसात गर्दै पालना गर्न समस्त नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर यो समयको प्रतिकुलतालाई संयम, एकता र पारिवारिक प्रेमका साथ सामना गर्नु सबैको कर्तव्य भएको जनाएका छन् ।

‘लकडाउनको अवधिमा हुने या हुनसक्ने एकएक जटिलतालाई सहज बनाउने दिशामा सरकारले आफ्नो सम्बन्धित संयन्त्रहरूको ब्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै केही महत्वपूर्ण विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘समग्र नेपाली समुदायको सहयोगी र विषेश धैर्य भूमिकाका लागि अपील गर्दछौं ।’

‘लकडाउनको अवधी ७ दिनबाट लम्बिनपनि सक्छ, त्यस्तो स्थितिमा दिनभरि काम गरेर माम जुटाउने बर्गझ को चुल्हो यो लकडाउनले पूरै लक गर्न सक्छ’, कांग्रेसले भनेको छ, ‘सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको बर्गका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिस्चित गर्न तत्काल ध्यान पुर्‍याउनु पर्दछ ।’

‘लकडाउनको अवधी लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको राजधानी लगायतको मुख्य शहरी क्षेत्रमा डेरा गरेर बसेका युवाहरूको स्थितिमा जटिलता उत्पन्न हुन जानेछ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीका लागि विशेष राहत योजना अविलम्ब निर्माण गरेर यस्तो स्थिति सामना गर्न सघाउ पुर्‍याउनु पर्दछ ।’

‘जोखिमसंग जुध्न दैनिक रूपमा सहि सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निस्चित गर्नुपर्दछ’, प्रवक्ता शर्माले भनेका छन्, ‘जसले नागरिक पंक्तिमा निरन्तर ढाडससंगै उच्च मनोबलको साथ रहनेछ । समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनुछ ।’

‘खाद्यान्न, पानी, अन्य रोगका औषधि एवं ग्यास, मट्टीतेल लगायतको अभाव असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले तिनै तहको सरकारवीच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘जोखिममुक्त ढंगले क्रयविक्रय गर्ने भरपर्दो सुनिस्चितता मिलाउन अत्यावश्यक छ ।’

‘आजदेखि होम क्वारेन्टाइनमा बसेका जो कसैलाई पनि कोरोना सम्बन्धि निस्चित लक्षण देखिए सम्पर्क कहाँ गर्ने, तिनलाई अस्पताल कसरी कहाँ पु¥याइने र उपचार प्रक्रियाको सहजता के हुने, जस्ता अन्यौल सरकारले सार्वजनिक सूचनामार्फत यथाशीघ्र चिर्न जरुरी छ ।’

‘आजको विश्वब्यापी महामारी संसारले स्वास्थकर्मीहरूको नेतृत्वमा लडिरहेको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘अत स्वास्थकर्मीहरूको उच्च मनोबल राख्न राज्य, राजनैतिक दल एवं सिंगो समाजको विशेष ध्यान र साथ पुग्न जरुरी छ ।’

‘विश्व स्वास्थ संगठनले नेपाल जोखिममा रहेको सूचना दिएको महिना दिन पुगिसक्दापनि पर्याप्त पिपिइ प्रबन्ध नगरिनु सरकारको गम्भीर लापरबाही हो’, कांग्रेसले भनेको छ, ‘यथाशीघ्र आयात गर्ने कार्यमा सरकारको गम्भीर भूमिका अपेक्षा गर्दछौं ।’

‘परीक्षण कीटको अभाव हुनसक्ने स्थिति आउन नदिन आपतकालीन ढंगले जोहो गर्न अपील गर्दै जिल्लाहरूबाट परीक्षणका लागि नमूना केन्द्रमै पठाउनुपर्ने अवस्था अन्त्य गर्न र कम्तीमा ७ प्रदेशको ७ ठाउँमा वैकल्पिक प्रयोगशाला प्रबन्ध गरेर परीक्षण सहज बनाउन सरकारसंग आग्रह गर्दछौं’, कांग्रेसले सरकारलाई सुझाव दिएको छ ।

‘लकडाउनले सबै थरी ब्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृष्टिगत गरेर सरकारले ब्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथाशीघ्र निर्वाह गर्नुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘बेरोजगारीको पीडा अलग छंदै थियो, मौजुदा प्रतिकुल स्थितिमा विविध क्षेत्रमा रोजगारीमा रहेकाहरूको पनि काम बन्द हुँदा रोजगारदातासंग नवीन प्रकृतिको द्वन्द्व सृजना हुँदै गएको छ’, कांग्रेसले भनेको छ, ‘यस्तो स्थितिको निकासमा सरकारको अभिभावकीय भूमिकामार्फत व्यक्ति र प्रतिष्ठान दुवैको हितमा समाधान तय गर्न जरुरी छ ।’

‘कोबिड प्रतिकुलताका कारण साप्ताहिक पत्रिकाहरू सामूहिक सूचनाका साथ तत्कालका लागि प्रकाशन स्थगनमा गएका छन्’, कांग्रेसले भनेको छ, ‘अन्य प्रकाशनमा पनि यस्तै स्थिति उत्पन्न हुन सक्दछ ।’

‘अत नागरिकलाई सुसूचित गर्ने राज्यको चौथो अंग सञ्चार माध्यम एवं पत्रकारलाई विविध ढंगले प्रोत्साहित, सुरक्षित र संरक्षण गर्ने कर्तव्य यस्तो बेलामा राज्यले निभाउनुपर्ने आवश्यकता औंल्याउँदछौं’, प्रवक्ता शर्माले भनेको छ ।

‘प्रदेश ५ को बाँकेमा एक क्वारेन्टाइनबाट हतास मनस्थितिमा नागरिक बाहिरएको र राज्यले स्नेहपूर्वक नियन्त्रणमा राख्न नसकेको घटनाबाट शिक्षा लिंदै लकडाउनको अवधी एवं संभावित अन्य क्वारेन्टाइन र आइसोलेसनमा त्यस्तो लापरबाहीको स्थिति बन्न नदिन विशेष सावधानीको अपील गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘एकातर्फ हामी पूरै देश लकडाउनमा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली बिदेशी भूमिमा लक्ड स्थितिमा छन्’, शर्माले भनेका छन्, ‘तिनको अभिभावक मुलतः मातृभूमि नेपाल नै हो ।’

‘सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न जरुरी छ’, कांग्रेसले भनेको छ ।

‘सरकारलाई यी सबै आग्रह लकडाउन पूर्वनै हामीले आन्तरिक संवादमार्फत गरिसकेका छौं’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो बेला सरकारलाई सघाउनु हामी सबैको कर्तव्य हो । सरकारलाई घच्घच्याउने दायित्वपनि हामी सबैको हो ।’

Published : Tuesday, 2020 March 24, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया