ठेकेदारहरूले गर्दा राम्रा कलाकारहरू बिक्न छाडेः गायक शर्मा (अन्तर्वार्ता)

चन्द्र शर्मा, गायक, लोक तथा दोहोरी गीत

चन्द्र शर्मा लोक तथा दोहोरी गीतमा नाम कमाएका राम्रा गायक हुन् । सधै लोप्रोफाइलमा बसेर कलाकारहरूको हकहितमा काम गर्न रुचाउन शर्मा सबैलाई समान रुपमा व्यवहार गर्ने गायकमा पर्छन् । चलेका हुन् वा नचलेका या भरखरका नयाँ गायक गायिका सबैलाई शर्माले समान व्यवहार गर्छन् । उनको यही व्यवहारले गर्दा धेरैले मन पराउँछन् । उनै गायक चन्द्र शर्मासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अंश –

गीत संगीतमा लागेर राजनीति कत्तिको गर्नु हुन्छ ?

नेपालमा राजनीति भन्ने एउटा यस्तो चिज हो सचेत नागरिकलाई राजनीति भन्ने कुराले छोएकै हुन्छ । मैले राजनीति गर्दैन भन्ने कुरा नेपालको परिवेशमा सुहाउँदैन जस्तो लाग्छ । मलाई राजनीतिक अवश्यक छैन भने पनि त्यो राजनीतिले हामीलाई पच्छयाई रहेको हुन्छ । राजनीतिले हामीलाई नै राजनीति गरिरहेको छ । धेरै थोरै, अरुको राजनीति त होइन गीत संगीतको राजनीति, सकारात्मक किसिमको राजनीति नचाहँदा नचाहँदै पनि भइरहन्छ ।

तपाई लोक तथा दोहोरी राष्ट्रिय प्रतिष्ठानको अध्यक्ष पनि हुनुभएको थियो । त्यस बेला के काम गर्नुभयो ? तपाईलाई के कारणले सम्झिने ?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा कलाकारको सबैभन्दा ठूलो संस्था हो । कुनै पनि संघ संस्थामा मैले यति गर्छु, गर्नुपर्छ भन्ने कुरा कोटा छुट्याइदिएको जस्तो संघ संस्थामा मान्छेले प्रतिनिधित्व गर्दैन । आफूले नेतृत्व लिइसकेपछि सहचालकलाई चालक हुन रहर हुन्छ भने झै हरेकले आफ्नो क्षेत्रमा नेतृत्व लिइसकेपछि समाजमा केही गरौँ भन्ने उदेश्य हुन्छ । मभन्दा अगाडि अमर विरही गुरुङले प्रतिष्ठनको नेतृत्व लिनुभयो । प्रजापति पराजुलीले लिनुभयो । दुर्गा रायमाझीले दुई कार्यकाल लिनुभयो । पुरुषोत्तम न्यौपानेले एक कार्यकाल लिनुभयो । अनि म अध्यक्ष भएँ । बद्री पंगेनी हुनुभयो । अहिले रमेश बिजी अध्यक्ष हुनुहुन्छ ।

म अध्यक्ष हुँदा संस्थामा धेरै उपलब्धि भएका छन् । संगठन विस्तारका कुरा भयो । मेरै कार्यकालमा विदेश शाखाहरू गठन भएको हो । मैले नेतृत्व लिँदा ४६ वटा शाखा थिए । म अध्यक्ष भएपछि ६२ वटा शाखा भएका छन् । पहिलो पटक लोक दोहोरी गीतलाई राज्यले रातो किताबमा रकम विनियोजन गरेर रु. ५ लाख रुपियाँ विनियोजन गरिदिएको छ । जुन पैसा अहिलेसम्म हामीले नेपाल सरकारबाट लिइरहन्छौँ । त्यो काम मेरै कार्यकालमा भएको हो ।

मैले नेतृत्व लिँदा कलाकार कल्याणकारी कोष १५ लाख थियो । मैले यसलाई जसरी भएपनि ५१ लाख पु¥याउँछु भनेर घोषणा गरेको थिएँ । मेरो कार्यकालमा ७० लाख पुगेको थियो । नेपालमा लोक तथा दोहोरी रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेका थियौँ । अहिले छैटौँ संस्करण चैतको ४ देखि ६ गतेसम्म भृकुटीमण्डपमा हुँदै छ । विजेता टिमलाई ३ लाख, २ लाख र एक लाख पुरस्कार छ । नेपालमा सबैभन्दा ठूलो पुरस्कार राशी भएको दोहोरी प्रतियोगिता हो त्यो ।

राज्यसँग लोक दोहोरीका पहुँचका कुराहरू भए । काठमाडौंमा रहेका संघ संस्थाहरूसँग हाम्रो समन्वय गर्ने भूमिकाहरू भयो । मेरै कार्यकालमा दोहोरी गीत प्रतिष्ठानमा सबैले भेगिए नाराहरू लगाउने, दोहोरी गीत प्रतिष्ठान लुम्बिनी, धौलागिरी र गण्डकीको मात्रै हो कि भन्ने एउटा प्रभाव थियो । ती आरोपहरूलाई पनि मत्थर बनायौँ । तत्कालीन समयमा स्व.नारायण पाण्डेको स्मृतिमा रु.१५ हजार रुपियाँ ‘स्व.नारायण पाण्डे स्मृति प्रतिभा सम्मान भनेर निरन्तर वार्षिक रुपमा लोक दोहोरी गीतको प्रतियोगितामा गायकलाई दिने भनेर निर्णय मेरै कार्यकालमा भएको छ । यो पुरस्कार छ जनाले पाइसकेका छन् ।

प्रतिष्ठानको भवन कसले बनायो ?

भवन मेरो कार्यकालमा बनाउने भन्ने योजना बन्यो । योजना त दुर्गा रायमाझीको कार्यकालमा थियो । हाम्रो कार्यकालमा भवन बनाउने कुरा भयो । त्यसलाई तत्कालीन अध्यक्ष बद्री पंगेनीको संयोजकत्वमा निरन्तरता दिइयो । भवन निर्माण समितिको सदस्य सचिव म थिएँ । तत्कालीन अवस्थामा बद्री पंगेनीजीले जुनखालको सहास र आँट लिनुभयो सह्रानीय छ ।

अध्यक्ष भएका बेला प्रतिष्ठानबाट गीत संगीतमा केही नीतिगत निर्णय गराउनु भयो ?

गीत संगीतमा नीतिगत निर्णय भएका छन् । जहाँ धेरै कुराको संख्यात्मक विकास भयो, त्यहाँ विकृत हुन्छ । हिजोका दिनमा ४–५ वटा पत्रपत्रिका थिए । त्यहाँ धेरै चर्चा हुँदैन थियो । अहिले पत्रपत्रिकाहरू छ्यापछ्याप्ती छन् । हाम्रो संस्थामा साढे ४१ हजार सदस्य छन् । पछिल्लो अधिवेशनमा २५–२६ हजारले सदस्यता नवीकरण गरेका छन् ।

कहिँ कतै विकृति विसंगती आउने पाटो पनि छ । हामीले संगीत विकास बोर्डको गठन गर्न राज्यलाई झकझाउने कुरामा चाहिँ संस्था स्थापना भएदेखि गर्दै आएका छौँ । बोर्ड बनाउन दवाव दिन गिरिजाप्रसाद कोइरालादेखि सम्पूर्ण प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छौँ । गीत संगीतमा विकृति आयो यसलाई रोक्न विकास बोर्ड गठन गरिदेउ भन्ने पाटोमा लाग्यौँ । संगीत विकास बोर्ड अहिलेसम्म गठन भएको छैन । त्यो नभएपछि हामीले व्यक्तिगत रुपमा दोहोरी गीत प्रतिष्ठान भनेको सिडियो कार्यालयमा दार्ता भएको संस्था हो । यसले गर्न पाउन र नपाउने कुरा पनि छन् ।

कलाकारहरूका बारेमा उल्लेखनीय काम के गर्नुभयो ?

एक जना विज्ञले भन्दै हुनुहुन्थ्यो । युगकवि सिद्धिचरण श्रेष्ठले युग कवि लेख्नुभन्दा अगाडि लक्ष्मीप्रसाद देवकोटाले युगकवि लेख्नु हुन्थ्यो रे । एउटा समारोहमा महाकवि भनेर उहाँलाई दर्जा दिइयो रे । उहाँहरू साथीसाथी तिमीले मागेपछि पाइहाल्यौ । युगकवि म लेख्छु है भनेर सिद्धिचरणले युगकवि लेख्न थाल्नुभएको हो रे । यो देशमा आफूले आफैलाई गरेपछि हुने रहेछ ।

राज्यले नटेरेपनि अहिले दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानले हाम्रा सदस्यहरूको गीत आफै सेन्सर गर्छौं । कम्तिमा तिमीले गीतहरू निकाली सकेपछि एकप्रति हामी कहाँ ल्याएर दर्ता गरिदेउ भनेका छौँ । एक पटक हामीले हेर्छौं । हाम्रो विवेकले नभ्याएपनि हाम्रा सल्लाहकारहरू नेपाली लोक तथा दोहोरी गीत संगीतमा सबैभन्दा पीएचडी गर्ने डा.गोविन्द आचार्य जस्ता सल्लाहकार हामीसँग छन् । नेपाल चलचित्र क्षेत्रका चेतन कार्की जस्ता व्यक्ति हामीसँग छन् ।

नारायण रायमाझी जस्ता मान्छे पनि छन् । एक पटक हामीले हाम्रो टिमले हेर्‍यो भने प्रकाशन गर्न सजिलो हुन्छ । त्यसका लागि भोलि मुद्धा मामिला पर्‍यो भने हामी लड्छौँ । संस्था लड्छ । ‘भुत्रो मायाजाल’ भन्ने गीतले कत्रो काण्ड मच्चायो । हामीसँग दर्ता थिएन त्यो गीत । हामी कसरी बोल्ने ? त्यो भएर जे नीति गर्नुपर्ने हो प्रतिष्ठानले त्यो काम गरेको छ ।

लोक तथा दोहोरी गीतमा बिकृति छ भन्नु भयो । त्यो बिकृति भनेको कस्तो हो ?

हरेक प्रकारका बिकृति छन् । मेला महोत्सवका बिकृति छन् । गएर जथाभावी रुपमा तथानाम अंग प्रदर्शन गरिदिने । त्यो पनि बिकृति हो । समाजमा निरन्तर रुपमा गरिखान नक्सने तर, गरिखाने भइसकेपछि व्यक्तिगत रुपमा आएर यसलाई केही प्रयोग गर्ने कार्य भएका छन् । जग्गा व्यापारी अथवा मेनपावर व्यापारी, विदेश बस्ने मान्छेहरू आएर केही समय लगानी गरिदिने । परिचित हुनका लागि कण्डा मच्चाउनु पर्‍यो । सयौँ गीत गाएका मान्छेहरू चिनिएका छैनन् । एउटा हत्कण्डा गर्नका लागि अनेक वितण्डा मच्चाउनु पर्‍यो नि । वितण्डा मच्चाउनेहरूले बिकृति ल्याउँछन् । त्यस्ता खालका बिकृति आएका थिए । विस्तारै हराएका पनि छन् । त्यसलाई धेरै महत्व दिनुपर्दैन । त्यो धेरै टिकाउ पनि हुँदैन ।

कस्ता खालका गीत संगीतहरू अहिले चलेका छन् ?

गीत संगीतको शैली र बहाव हेर्नुपर्छ । हिजो अडियो क्यासेट पनि हामीले भोगेको हो । भिसिडी पनि भोगेको हो । सीआरबिटी, पिआरबिटी पनि हामीले भोगेको हो । अहिले आएर युट्युबको डिजिटल मार्केट पनि हामीले भोग्यौँ । गीत चल्ने भन्ने केलाई भन्ने । फिल्मको हिरो र हिरोइनलाई लिएर पाँच लाखको प्रोजेक्ट गरिसकेपछि गीत संगीत चल्छ भन्नेछ । पाँच लाखका प्रोजेक्टहरू डब्बा भएर चल्दै नचलेर लगानी डुबेका पनि छन् । ५ लाख खर्च गरेको गीतको साढे एक लाख भ्यू नगएको यही बजारमा पनि छन् । ती गीत साथीभाइको मुखमुखमा चल्छन् । प्रदीप खड्का, केकी अधिकारी नाची रे नि ?! फलानो नाच्यो रे । निखिल उप्रेती नाच्यो रे भन्ने मुखमुखमा चल्छन् । गीत चल्दैनन् ।

व्यावसायिक रुपमा अस्ती भरखरै निस्किएको ‘कपालु कोरेर, कसरी जाने हो मायालाई छोडेर’ ६० हजार खर्च गरेको छ गीतमा । ४०–४५ लाख भ्यु गयो । अब मान्छेहरू त्यस्ता गीतहरूपनि मन पराइरहेका छन् । डिजिटल मार्केटलाई हेरेर गीत चल्यो भन्ने प्रावधान छ । त्यसलाई म मान्दिन । अहिले युट्युबमा केही हजार रुपियाँ पैसा दिइयो भने यति भ्युअर बढाउनुपर्छ भन्ने प्रथा छ । सालको पात टपरी, लालुमाइका गीतहरू सबैले मन पराए । त्यस्ता गीतलाई चलेकै गीत भन्न पाइन्छ ।

तपाईले कस्ता खालका गीतमा स्वर दिनुभएको छ ?

‘धानको चामल धानैको च्युरा, मायालुलाई के दिउँर सम्झना’ भन्नेछ । मपनि त्यही परम्परामा प्रविधिसँग हिँड्नै पर्‍यो । म प्रतिष्ठानको पूर्वअध्यक्ष र रोयल्टी समाजमा लागेको छु । गीत संगीतमा लागेको २०–२२ वर्ष भयो भनेर आफूले घमण्डा ग¥यो भन्ने अवस्था आएन । प्रविधिसँग डिजिटल मार्केटस्, नयाँ खालको एरेञ्ज त्यस्ता खालका कुराहरू गरेर गर्नुपर्छ भनेर एउटा गीत गरेको पनि छु । त्यसले चर्चा बटुल्यो । स्वभाविक रुपमा चर्चा बटुल्यो । आम्दानीको हिसाबले चलेन । आम्दानी हुनका लागि एउटा गीत ५०–६० लाख भ्यू जानुपर्छ । आफ्नै गीतहरू गर्ने पक्षमा पनि छु ।

तपाईलाई आफ्नै मन परेको गीत कुन हो ?

मन २–३ किसिमले पर्छ । घरमा चार बहिनी छोरीहरू लगातार जन्मिएर पाँचौँ बच्चाको रुपमा छोरा जन्मियो भने समाजमा कसैले सोध्दा तपाई कुन चाहिँ मन पर्छ भनेर सोधियो भने त्यो बाबुआमाले के भन्छ भने, ‘मेरा लागि सबै छोराछोरी बराबरी हुन् । आफ्ना सन्तान बराबरी हुन भनेर भन्छ । तर, उसको भित्री भावना ती चारवटी छोरीभन्दा एक जना बच्चाको माया हुन्छ । साढे दुई सय जति गीतमा स्वर दिए । कुनै गीतमा संगीतमा काम गरेको छु । कसैमा लगानी गरिदिएको छु । कसैमा शब्द लेखे हुँला । कसैमा मोडलिङ पनि गरेँ हुँला । करीव साढे २ सय गीतमा मेरो स्वामित्व होला । म दोहोरी साँझमा गीत गाउँथे ।

सबै साथीहरूको गीत चलेको थियो । आर्थिक हिसावले गीत नचलेको मेला महोत्सवमा जानुपर्ने त्यो बेला मलाई एउटा गीत चहिएको थियो । ‘चरी भए आउँथे उडेर’ भन्ने गीत बनाए । जुन गीत अत्याधिक मात्रामा चल्यो । त्यस बेला पनि ७०–८० हजार अडियो बिक्री भयो । मेरो आफ्नै कम्पनी थियो । भीसीडी पनि बिक्री भयो । त्यसले मलाई आर्थिक लाभ पनि गरायो । त्यस गीतलाई मैले सम्झिन्छु । पछिल्लो समयमा आएर संस्थागत नेतृत्व लिने क्रममा बीचमा केही सिर्जनाहरू कमी भए । संगठन भनेर हिँड्यो । त्यस बेला ‘बाच्छीले धान खायो’ भन्ने मेरो गीत चल्यो । मलाई चाहिएकै बेला त्यो गीत चल्यो । ती दुई वटा गीतले जिन्दगीमा मलाई धेरै राम्रो गरेका छन् ।

महोत्सवहरूमा टीका पुन, देवी घर्ती मगर, पूर्णकला विसी, विष्णु माझी जस्ता गायिकाहरूको माग हुँदैन किन होला ?

संगीत भनेको एउटा संगत हो । २० प्रतिशत आफ्नो कला र क्षमता छ भने ८० प्रतिशत संगत पनि हुन्छ । मेला महोत्सवको कुरा म के कुरा प्रष्ट पारौँ भने मेला महोत्सव भनेको एउटा व्यापार हो । व्यापारीले के गर्छ भने जहाँ राम्रो सामान, जहाँ जस्तो हुन्छ, जहाँ जे चिज देखाएर मान्छे लोभिन्छन्, त्यस्तालाई लैजाने हो । असनमा चार दिनको फर्सीलाई तेल लगाएर बेलुका टलक्क टल्कार राखिएको हुन्छ । टल्केको देखाएपछि मान्छेले किन्छ पनि । महोत्सव व्यापारीले लगाउने हो । उनीहरूले बिक्ने कलाकार लैजान्छन् ।

महोत्सव ३–४ वटा उद्योग वाणिज्य संघले लगाएका छन् । १–२ वटा च्यम्बर अफ कमर्शले लगाएका छन् । नत्र सबै ठेकेदारले महोत्सव लगाइदिएको हुन्छन् । बुटवल वाणिज्य संघले महोत्सव लगायो । लेखनाथ उद्योग वाणिज्य संघले लगायो । पोखराले लगायो । गल्याङ चेम्बरले लगायो । केही उद्योग वाणिज्य संघले लगाए । अरु भनेका ठेकेदारले लगाएका महोत्सव हुन् । उद्घाटन र समापन उद्योग वाणिज्य संघले गर्ने । ठेकेदारले उद्योग वाणिज्य संघलाई पैसा दिने ।

त्यसपछि महोत्सव लगाउने । त्यस्तो अवस्थामा उद्योग वाणिज्य संघले कला संस्कृति खोज्छु भनेर उसको केही चल्दैन । फोटो फेसबुकमा हाल्ने र आसशन ग्रहणभन्दा अरु काम हुँदैन । ठेकेदारले जो कलाकार उसको ब्यानरमा छ । जो कलाकार सस्तो छ । जो कलाकार उसको रिलेशनमा छ । जो कलाकार बोलाएर मान्छे आउँछन् । त्यस्ता चिजहरूमा ठेकेदारले महोत्सव लगाउँछ । केही पुराना कलाकारका नामहरूलाई नबोलाएको हुनुपर्छ ।

संगीत रोयल्टी संकलन समाजको काम के हो ?

यो समाजको म महासचिव छु । यसको अध्यक्ष महेश खड्काजी हुनुहुन्छ । हाम्रो टिमले काम गरेको छ । फागुन ७ गते यस वर्षको साधारण सभा छ । रोयल्टी उठाउने तीन वटा छन् । एउटा प्रस्तोता समाज छ । त्यसले गायकहरूको रोयल्टी उठाउँछ । एउटा उत्पादक समाज छ । त्यसले लगानीकर्ताहरूको रोयल्टी उठाउँछ । हामी संगीत रोयल्टी संकलन समाज भनेको गीतकार र संगीतकारको रोयल्टी उठाउँछौँ । यातायात, रेडियो, टेलिभिजन, एनटीसी, एनसेल जस्ता स्थानबाट रोयल्टी उठाएका छौँ । वितरण गर्छौं ।

रोयल्टी उठाएर श्रष्टालाई दिनु हुन्न भन्ने आरोप छ नि हो ?

यो गलत कुरा सुन्नुभयो । रोयल्टी उठाएर सबैभन्दा धेरै श्रष्टालाई रोयल्टी बाँड्ने अहिले पनि जस्तै सन्तोष केसी, राजु बानियाँ, सहदेव कोइरालालगायतकाले रोयल्टी लगिरहनु भएको छ ।

यो समाजभित्र भ्रष्टाचार छ भन्छन् नी ?

समाजमा एकथरी मान्छे कस्ता छन् भने आफै कार्यसमितिमा बस्ने काम नगर्ने पनि छन् । आफै ९–१० वर्ष कार्यसमितिमा बसेर केही नगर्ने पनि छन् । व्यक्तिगत ईगो प्रयोग गरेर संस्थालाई लाञ्छना लगाउन खोज्छन् त्यस्ताले । त्यो रोयल्टीमा मात्रै होइन जहाँ पनि यो रोग हुन्छ । यसको लेखा प्रणाली छ । समाजको आर्थिक पारदर्शिता देखाएका छौँ । बाटोमा चिया खाएर, धराने बंगुरको सेकुवासँग एक क्वाटर रक्सी खाएर भ्रष्टाचार छ भनेर भन्नुको कुनै अर्थ छैन । आएर आर्थिक प्रशासनमा लेखा प्रणाली हेरे हुन्छ ।

नर्बेले पैसा दिन्छ रे नि हो ?

अहिले त्यो बजेट एक रुपियाँ पनि आउँदैन । खाजा खाने पैसा छैन । नर्बेले पैसा दिँदैन । सीमाभित्र खर्च गर्न पाइँदैन । सरकारले पनि पैसा दिँदैन । तीन लाख रुपियाँ प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले वार्षिक रुपमा दिन्छ । त्योपनि पहिला कार्यक्रम गरेर बिल भरपाइ बुझाएपछि पैसा पाइन्छ । यहाँको खर्च एनटीसी लगायतबाट आएको रोयल्टीको २५ प्रतिशत कटाउँछौँ । त्यहीबाट कर्मचारी र कार्यालय खर्च चलेको छ । भ्रष्टाचार छ भन्ने साथीहरू किन झ्यालबाट छिर्नु पर्‍यो । ढोकैबाट आएर हेरे हुन्छ ।

Published : Thursday, 2020 February 13, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया