काठमाडौंले परीक्षा लियाे, अबसर पनि दियाेः गायिका पूर्णकला बिसी

पूर्णकला बिसी, गायिका

काठमाडाैं । पूर्णकला बिसीको स्वत अति नै मीठो छ । उनी स्वरकी धनी छिन् । गृहजिल्ला बर्दिया छाडेर काठमाडौं प्रवेश गरेपछि पूर्णकलाले गायन क्षेत्रमा ठूलै फड्को मारेकी छिन् ।

पाँच हजारभन्दा धेरै गीतहरूमा उनले स्वर दिएकी छिन् । पूर्णकलाका अधिकांश गीतहरु रुचाइएका छन् । सामाजिक सञ्जाल युट्युबमा पूर्णकलाका गीतहरूको लामै सूची देख्न सकिन्छन् । सबै गीतले राम्रो भ्यू पाएका छन् । आफ्नो स्वरका गीतहरूले पाएको भ्युबाट उनी खुसी पनि छिन् ।

काठमाडौंमा शुरुका दिनमा गायिका पूर्णकलालाई केही कठिनाइ भएको थियो । संघर्षका दिन सम्झिदै उनले भनिन्, ‘सबैलाई काठमाडौंले एक पटक परीक्षा लिँदो रहेछ । अबसर पनि दिँदो रहेछ ।’ काठमाडौंले दिएको अबसरलाई गायिका पूर्णकलाले फुत्किन दिइनन् ।

उनले शुरुवाती दिनमा काठमाडौंका दोहोरी साँझहरूमा पनि गीत गाइन् । भन्छिन्, ‘काठमाडौंमा लोक तथा दोहोरी साँझहरूमा गीत गाएँ । त्यसपछि एल्बमहरूमा स्वर दिन थाले ।’

उनले एल्वमको गीतमा पहिलो पटक स्वर दिँदा धेरै खुसी भएकी थिइन् । उनलाई अहिले पनि त्यो पहिलो गीतको सम्झना ताजा छ । डम्बर नेपालीको ‘तिर्सना मेटौँला…’ बोलको गीतमा उनले स्वर दिएकी थिइन् । त्यस गीतपछि उनले धेरै गीतहरूमा लगातार स्वर दिन भ्याइन् ।

पछिल्लो समय उनी दैनिक सरह गीतहरू रेकर्ड गर्न व्यस्त हुने गरेकी छिन् । बेलाबेला मेला महोत्सवहरूमा बोलाउँदा उनी जाने गर्छिन् । तर, धेरै जसो महोत्सवमा जाँदिनन् । बोलाएको ठाउँमा नाइ पनि भन्दिनन् ।

गीत संगीतलाई धेरै उत्ताउलो बनाउन नहुने उनले कुराकानीका क्रममा बताउँछिन् । भन्छिन्, ‘गीतमा आफ्नै खालको मौलिकता हुनुपर्छ । उत्ताउलोपनालाई समावेश नगरेकै उचित हुन्छ । घरपरिवार, समाज, साथीभाईसँग सुन्न र हेर्न सक्ने गीत बनाउनुपर्छ ।’

कलाकारहरूबाट दर्शक स्रोताले जहिले पनि सकारात्मक कुराको अपेक्षा गरेको गायिका पूर्णकलाले बताउँछिन् । ‘हामी कलाकार भनेको दर्शक स्रोताको पहिलो रोजाइमा हुन्छौँ’, उनी भन्छिन्, ‘हामीले दिने संस्कार जहिले पनि सकारात्मक हुनुपर्छ । हामीबाट गलत कार्य भयो भने समाजले त्यही कुरा सिक्छ ।’ समाज परिवर्तन गराउने विषयमा कलाकारहरूको ठूलो भूमिका हुने उनले बताइन् ।

गायिका पूर्णकलालाई शर्मिला गुरुङको स्वर धेरै मन पर्छ । शुरुका दिनमा गायिका गुरुङकै स्वर सुनेर उनी प्रभावित भएर गायनमा प्रवेश गरेकी हुन् । ‘शर्मिला गुरुङ दिदीको स्वर मलाई धेरै मन पर्छ । हरिदेवी कोइरालाको पनि स्वर उत्तिकै मन पर्छ’, उनले भनिन्, ‘उहाँहरूको स्वर र गायन शैलीबाट म धेरै प्रभावित छु ।’

गायनमा लाग्नका लागि घरपरिवार, साथीभाईहरूको साथ र सुझाव उनका लागि आशीर्वाद सावित भएको छ । सबैको माया र प्रेमले नै गायनमा टिकिरहन सफल भएको गायिका पूर्णकलाले बताउँछिन् । ‘शुभेच्छुक र आफन्तहरूको माया प्रेमले नै गीत संगीतको क्षेत्रमा अहिलेसम्म टिक्न सकेकी छु’, उनले भनिन्, ‘सक्दासम्म गायन पेसालाई छाड्ने छैन ।’

तपाईलाई कस्ता खालको गीतमा स्वर दिन मन पर्छ ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘सबै खालका गीत गाउन मन पर्छ । विशेष गरेर टिपिकल लोक तथा दोहोरी गीत नै मेरो गायनको रोजाइ हो ।’

लोक तथा दोहोरी गीतमा प्रयोग भइरहेका शैलीप्रति उनी नकारात्मक छैनिन् । ‘मेरो रुचिको कुरा गर्नुहुन्छ भने म टिपिकल लोक तथा दोहोरी गीतमै ध्यान दिन्छु’, उनले भनिन्, ‘दर्शक स्रोताले कस्तो खालको गीत मन पराउनु हुन्छ, त्यसमा पनि ध्यान दिनुपर्छ ।’ समय र परिवेशलाई बुझेरै अगाडि बढ्नुपर्ने उनले बताइन् ।

गायिका पूर्णकलाले दश वटा अवार्ड पाइसकेकी छिन् । गीतहरूबाट स्वरको प्रशंसा गरेर दिइएका अवार्डबाट उनी खुसी छिन् ।

गायकहरू कुलेन्द्र बिक, राजु परियार, रामजी खाँणसहित अहिले आएका नयाँ गायकहरूको स्वर पनि उनलाई मन पर्छ । आउँदै गरेको नयाँ पुस्ताले गायन क्षेत्रमा राम्रो प्रभाव छाड्न सफल भएको गायिका पूर्णकलाले बताइन् ।

गायिका पूर्णकलाले आफ्नै नाममा युट्युब च्यानल पनि बनाएकी छिन् । त्यसमा आफ्नो एउटा गीत मात्रै राखेकी छिन् । त्यो एउटै गीत दश लाख भ्यू गएको छ । उनले युट्युब च्यानललाई सस्क्राइब बढाएर लैजाने योजनामा छिन् ।

गायिका पूर्णकला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, ह्वाट्स एपमा जोडिएकी छिन् । सामाजिक सञ्जालमा अहिलेसम्म उनलाई गाली गरेका कमेन्ट आएका छैनन् । भन्छिन्, ‘मैले कसैको कुभलो चिताउँदिन । त्यही भएर हुनुपर्छ मलाई कसैले नराम्रो कमेन्ट गर्नु हुन्न ।’ फेसबुकमा भन्दा पनि आफूलाई उनले ट्वीटरमा अलिक बढी सकृय बनाउने गरेकी छिन् । उनले विदेशमा रहेका साथीभाईहरूसँग ह्वाट्स एपबाट कुरा गर्न रुचाउँछिन् ।

Published : Thursday, 2020 January 30, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया