‘गुप्तचार’सम्बन्धी विशेष सेवा विधेयक फिर्ता लिन कांग्रेसकाे माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानको भावना र मर्म विपरित सदनमा विधेयकहरू प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लगायतका विधेयकहरूलाई फिर्ता लिई संविधान अनुकूल विधेयकहरू प्रस्तुत गर्न कम्युनिस्ट सरकारसँग जोडदार माग गरेको छ ।

नेपाली कांग्रेसले विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकमार्फत गुप्तचर विभागलाई दिन लागिएको अधिकारहरू संविधानको भावना र मर्म विपरित रहेको जनाएको छ ।

कम्युनिस्ट सरकारले गुप्तचरहरू फोन रेडर्क गर्ने, पक्राउ गर्ने, थुन्ने, गोली हान्न सक्ने जस्ता अधिकारहरू दिन खोजेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको हो ।

नेपाली कांग्रेसले संवैधानिक परिषदको कार्यसञ्चालनसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेशमार्फत खोजिएको भन्दै विरोध जनाएको छ ।

‘संवैधानिक परिषदको कार्यसञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेशमार्फत प्रयास भएको र यस सन्दर्भमा संविधान विपरित संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2019 December 19, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया