दाङमा अबैध असुली गर्ने एक हुल ‘टोले गुण्डा’हरू पक्राउ

घोराही । दाङ जिल्लामा प्रहरीले ढाट राखेर सवारी साधनहरूबाट अबैध असुली गर्ने टोली गुण्डाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नं. १३ सेवार बगालेमा अबैध रुपमा चेक प्वाइन्ट खडा खरी सवारी साधनबाट असुली गर्ने छ जना टोले गुण्डाहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो समूहले घोराही–होलेरी सडक खण्डमा ‘रोल्पा–रुकुम ट्रक तथा मिनी ट्रक यातायात प्रा.लि’को बोर्ड राखेर चेक प्वाईन्ट खडा गरी विभिन्न सवारी–साधनहरूबाट गैर–कानूनी रुपमा रकम उठाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडित सवारी साधनका मालिकहरूको जाहेरीको आधारमा ती टोले गुण्डाहरूलाई पैसा उठाउने रसिद ठेलीसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका छ जनाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (२१ को दफा २५३, आपराधिक लाभ लिन नहुने) कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका वडा नं. १४ बस्ने कर्णबहादुर वलीको छोरा वर्ष ३४ का रामचन्द्र वली, सोही ठाउँ बस्ने दिले खड्काको छोरा वर्ष २८ का चन्द्र खड्का, सोही ठाउँ बस्ने चन्द्रलाल घर्तीका छोरा वर्ष ३१ को नरेश घर्ती, सोही ठाउँ वडा नं. १३ बस्ने रुपलाल पुनको छोरा वर्ष ३३ को नन्दबहादुर पुन, वडा नं. १४ बस्ने लालबहादुर वलीको छोरा वर्ष २२ को पृथ्वी वली र प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराही उप–महानगरपालिका वडा नं. १४ बस्ने दधिराम पुनको छोरा वर्ष २६ को खिमबहादुर पुन रहेका छन् ।

प्रहरीले उक्त संस्था र व्यक्तिहरूबाट ठगिएका पीडितहरू कोही भएमा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क गर्न अपील गरेको छ ।

यी टोले गुण्डाहरूलाई क–कसले र किन परिचालन गरेका हुन् भन्ने बारेमा पनि दाङ प्रहरीले छानविन शुरू गरेको छ ।

Published : Tuesday, 2019 August 13, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया