मकवानपुर कांग्रेसद्वारा राहत वितरण, पीडितहरू खुसी (तस्वीर)

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोबर गाउँपालिकाका बाढी पहिरो पीडितलाई गाउँमै पुगेर राहत बाँडेको छ ।

असार २७ गतेबाट परेको अविरल वर्षाका कारण बाढी पहिरो पीडित १ सय ६१ घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरले खाद्यान्न तथा लत्ता, कपडासहितका सामाग्री वितरण गरेको हो ।

ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का पूर्ण र आंशिक क्षति भएका १ सय ६१ घरपरिवार बाढी पहिरो पीडितहरूलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले राहत वितरण गरेकी हुन् ।

नेतृ उपाध्यायले पीडित परिवारलाई एक–एक बोरा चामल, त्रिपाल, दाल, नुन, तेल, सिरक, डस्ना, लत्ताकपडा, भाँडाकुडालगायतका सामाग्रीहरू प्रदान गरिएकी हुन् ।

दुईतिहाइको केन्द्रीय सरकार र प्रदेश ३ को सरकारले बाढी पहिरो पीडितहरूलाई सहयोग नगरेको गुनासो भइरहेका बेला नेपाली कांग्रेसले राहत वितरण गरेको छ । कांग्रेसले दिएको राहत पाएपछि पीडितहरू खुसी भएका छन् ।

राहत वितरणमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघका अध्यक्ष काब्यमणि अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दीव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, व्यवसायी तथा समाजसेवीहरू प्रमोदसिंह रानाभाट, सुदर्शन खरेल, अनिल अग्रवाल, नवराज न्यौपाने, भागवत अवस्तीलगायतले सहयोग गरेका थिए ।

नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँपालिका संयोजक जवानसिंह वाईबाको अध्यक्षतामा राहत वितरण कार्यक्रम गरिएको थियो ।

राहात वितरण कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईन्द्रसरोबर महिला संघ संयोजक निर्मला रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राहात सामाग्री वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरू कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, महासमिति सदस्य दिनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस क्षेत्रीय सल्लाहकार उत्सव ईटेनी, थाहानगर उपसभापति भरत गोपाली, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, विकाश बलामी, कृष्ण बलामी, विष्णु कार्की, समाजसेवीहरू सुरेन्द्रमान प्रधान, हरिकुमार लामा, काजेन्द्र परियारलगायतको पनि उपस्तिथि रहेको थियो ।

यसअघि कांग्रेस मकवानपुरले बाढी पहिरोमा परी मृत्यु भएका जिल्लाका ६ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले नगद राहत रकम प्रदान गरेको थियो ।

Published : Thursday, 2019 August 1, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया