सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेबारे कांग्रेसको आकस्मिक निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले सरकार नै संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन हुन नदिन लागेको निष्कर्ष निकालेको छ ।

शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संसदीय छानबिन समिति बन्न नदिन सरकार आफै लागेको जनाएको छ ।

संसद समेत चल्न नदिन सरकार आफैं उद्यत रहेको निष्कर्ष निकालेको महामन्त्री गगनकुमार थापाले पत्रकारहरूसँग बताएका छन् ।

थापाले संसदको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको बताएका छन् ।

आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको थापाले बताए । उनले भने, ‘त्यही बैठकले अब के गर्ने भन्ने निष्कर्ष निकाल्छ ।’

महामन्त्री थापाले शुक्रबारको संसदको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने र त्यसपछि कांग्रेसले बोल्ने कुरामा सहमति भए पनि सरकार पक्षले त्यो सहमतिलाई तोडेर गृहमन्त्रीलाई मात्रै बोल्न दिएर सदन चलाउन खोजेको आरोप लगाए । त्यसपछि सरकारको रणनीति र योजनाका कारण बाध्य भएर संसदमा अबरोध गर्नुपरेको उनले बताए ।

सहकारीको करोडौं रकम अपचलन तथा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नतबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने विषयमा कांग्रेसले अडान लिएको छ ।

संसदीय छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने महामन्त्री थापाले बैठकपछि पत्रकारहरूसँग बताएका छन् ।

गृहमन्त्री आफू निर्दोष छु भन्नेमा विश्वस्त देखिएकाले छानबिन समिति बनाउनुपर्ने विषयमा डराउनु नपर्ने महामन्त्री थापाले बताएका छन् ।

थापाले भने, उहाँ विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । एमाले विश्वस्त छ । हाम्रो त दाबी मात्रै हो ।’

‘भोलि हामीले भनेको कुरा प्रमाणित भएन भने कांग्रेसलाई कति क्षति पुग्छ होला’, महामन्त्री थापाले भने, ‘त्यो क्षति ब्यहोर्न तयार भएर छानबिन समिति माग गर्दै गर्दा उहाँहरू किन तयार नहुनुभएको ।’

महामन्त्री थापाले यसअघि विभिन्न पार्टीका मन्त्रीहरूलाई विभिन्न आरोप लाग्दा सजिलैसँग संसदीय छानबिन समिति गठन गरी छानबिन भएको पनि बताएका छन् ।

कांग्रेसका महामन्त्री थापाले भने, ‘उहाँलाई चाहिँ प्रश्नै गर्न नहुने हो ? कानूनभन्दा माथि हो ।’

थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरूसँग रहेको बताएका छन् ।

संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न उनले चुनौती दिएका छन् ।

‘प्रमाण खोज्न कहिँ जान पर्दैन । सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ’, थापाले भने, ‘यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ ।’

‘यसलाई संसदीय समितिबाट आधारहीन छन् भनेर प्रमाणित गर्न चुनौती दिन्छौं’, उनले भने, ‘तपाईंहरूकै बहुमत छ गलत हुन भनेर सावित गर्न चुनौती छ ।’

Published : Saturday, 2024 May 11, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया