एमालेबाट सभामुख बनेका घिमिरेले औकात देखाएपछि गगनले भने– निगाहको समय चाहिँदैन, मेरो हकको समय चाहिन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आकस्मिक समय माग गरेपछि एमालेबाट सभामुख बनेका देवराज घिमिरेले ३ मिनट मात्रै दिएपछि प्रतिवाद भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले कांग्रेसका सांसद गगनकुमार थापालाई ३ मिनटभित्र सबै कुरा राख्न भनेर समय दिएका थिए । कांग्रेसका सांसदहरूले ३ मिनटको समय नपुग्ने भन्दै विरोध जनाएका थिए ।

त्यसपछि घिमिरेले भने, ‘माननीय सदस्यहरूले के कुरा राख्नु हुन्छ ? कति समय दिनुपर्छ ? के गरी चलाउनुपर्छ ? भन्ने कुरा यताबाट टुङ्गो हुने कि त्यहाँ माननीय सदस्यहरूले भनेपछि टुङ्गो हुने हो ?’

कांग्रेसका सांसदहरूले भने, ‘यहाँको कुराहरू राम्रोसँग थाहा छ सभामुख महोदय । हाम्रो कुराको पनि राम्रोसँग सुनुवाई हुनुपर्छ ।’

घिमिरेले भने, ‘यो संसदलाई चलाउने विधि माननीयहरूले माग के के गर्नु हुन्छ ? कति माग्नु हुन्छु ? के गर्नु हुन्छ ? त्यहाँबाट तय हुने हो कि ? यहाँबाट तय हुने हो ? त्यस कारणले माननीय सदस्य यहाँहरूले आसनग्रहण गरौँ । माननीय सदस्य गगन थापालाई ३ मिनटको समय प्रदान गरेको छु । ३ मिनटभित्र आफ्ना कुराहरू राख्नुस् ।’

सभामुख घिमिरेले पेलेर ३ मिनट मात्रै समय दिएपछि सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा किन समयको कुरा उठेन भनेर प्रश्न उठाएका छन् । विगतमा एमालेले प्रमुख प्रतिपक्ष दल रहँदा सभामुख घिमिरेले दिएको समय र व्यवहारका विषयमा पनि सांसदहरूले स्मरण गराएका छन् । कार्यव्यवस्था परामर्श समितिमा छलफल नै नगरेर समय तोक्न पाइन्छ ? भनेर सभामुख घिमिरेमाथि सांसदहरूले प्रश्न उठाएका छन् ।

सांसद थापाले भने, ‘आज सदनको बैठक प्रारम्भ भएको दिन । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट यसरी सभामुख महोदयसँग उभिएर मागेर यसरी बोल्नु पर्ला भन्ने मलाई पटक्कै पनि लागेको थिएन । यसरी बोल्ने चाहना पनि थिएन ।’

‘आज म यहाँ उभिएर पार्टीको तर्फबाट डडेलो नियन्त्रणका बारेमा कुरा गर्न चाहन्थेँ । सरकारको हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोँच्न चाहन्थेँ । बाढीपहिरो नियन्त्रणको तयारीका बारेमा सोध्न चाहन्थेँ’, उनले भने, ‘दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छ ? भनेर पनि सोध्न चाहन्थेँ ।’

सांसद थापाले भने, ‘यो सदनमा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने कुराको म अनुमान लगाउनु सक्छु ।’

‘माननीय गृहमन्त्रीजीले सदनको बाहिरतिरको भर्‍याङमा उभिएर ४ वर्ष बन्द भए पनि हुन्छ । बन्द भए पनि होस् । मजाले चलाउने हो भन्नुभएको थियो’, थापाले भने, ‘भरखर भरखर आउनुभएको धेरै थाहा छैन कि भन्ने लागेको थियो । सम्माननीय प्रधानमन्त्री यत्रो पटक प्रधानमन्त्री हुनुभएको, पटक पटक सदनमा आउनुभएको, सदन कसरी चल्छ ? चलाउनुपर्छ भन्ने पक्कै पनि बुझ्नु भएको होला भन्ने लागेको थियो ।’

‘तर, हिसाब किताब बिग्रने डर सबैतिर हुने नै भयो । त्यसैले आज सदनमा जुन दृष्य बन्न जाँदैछ सो कारण हामी होइनौँ । कारक पनि हामी होइनौँ’, सांसद थापाले भने, ‘जे गर्ने सोँच राखिएको छ त्यसको मूल्य भोलि सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ ।’

‘यसभन्दा अगाडि हाम्रा कुराहरू राख्दै गर्दाखेरी विधेयकहरू पारित होस् । लगानी सम्मेलन भन्दा अगाडि सरकारलाई सजिलो होस् । धेरै कुरा त्यस कारणले गम्भीर भयौँ’, उनले भने, ‘निजामती ऐन लगायतका कुरा सदनमा जाओस् भन्न खोज्यौँ । हाम्रो जम्मा एउटा कुरा थियो । अहिले पनि त्यही कुरा छ ।’

सांसद थापाले भने, ‘सहकारीको ठगीका सम्बन्धमा यो संसदले छानविन समिति बनाओस् । यो संसदले छानविन समिति बनाउँदै गर्दा यो समितिमा नेकपा (एमाले) बस्ने होला । माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । कांग्रेस बस्ने होला । ढिंकी जातो तपाईहरूकै हातमा छ ।’

‘तथ्य हामीले बनाउने होइन होला ? मलाई कसैले आरोप लगाइदिए त, लगाउनु पनि भएको छ । मलाई त बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाइदिएर छानविन गरिदिए त आहा कति राम्रो हुन्थ्यो’, थापाले भने, ‘सबैले थाहा पाउँथे । किन डराएको ? किन भनेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदा हुँदा कानूनले भन्छ महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन । यहाँ त प्रभाव होइन । झुकाब राख्नु हुँदैन भन्छ । झुकाब होइन । महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसार नै परिसक्नुभयो ।’

सांसद थापाले प्रश्न गर्दै भने, ‘कन डराएको ? किन आत्तिएको ? के ल्याउने हो र ? के बनाउने हो र ? यदि गल्ती गरेको छैन भने ।’

कांग्रेसका सांसद थापाले भने, ‘सम्माननीय सभामुख महोदय समय मलाई नदिए पनि केही छैन । नदिए पनि केही छैन । किन भने मलाई निगाहको समय चाहिँदैन । मेरो हकको समय चाहिन्छ । मेरो हकको समय चाहिन्छ । म, मेरो पनि यहाँ उभिएर बोल्ने हक छ । म निगाहको समय माग्न मात्रै उभिएको होइन । सम्माननीय सभामुख महोदय । आज सभामुख महोदयलाई मैले बुझाउनु पर्ने कम्तिमा पनि १५ वटा पत्रहरू छन् । पत्र लेख्न मलाई पनि आउँछ । पत्र बुझाउन हामीलाई पनि आउँछ ।’

उनले भने, ‘यहाँ गृहमन्त्री माथि कुनै पनि अभियोजन भएको छैन । कुनै पनि अनुसन्धान भएको छैन । कुनै पनि अभियोजन भएको छैन । सम्माननीय प्रधानमन्त्री त्यहाँ उभिएर बोल्नु भएको छ । झुठ बोल्ने ? महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग गर्ने ? त्यही प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धान त्यहाँ भएको रुपन्देहीको अदालतको प्रमाणहरू पेश गरुँ ? मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफूले लिखित गरेर माग फारम भरेर लिएको पेश गरम ? एक अर्ब रुपियाँ अपचलन गरेको प्रमाणहरू पेश गरम ? कति वटा प्रमाणहरू पेश गरम ?’

Published : Friday, 2024 May 10, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया