कांग्रेस सांसद गुरुङको पत्रले सहकारी ठगका आरोपी लामिछानेमाथि अर्को समिति बन्न सक्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई संसदको अवहेलनामा कारबाहीको माग गरेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।

सोमबार कांग्रेसका उपसभापति समेत रहेका गुरूङले आइतबार प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन र आधारहीन आरोप लगाएर कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको उल्लेख गरेका छन् ।

सांसद गुरुङले भने, ‘हिजो मिति २०८१ साल जेष्ठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहिन, आधारहीन कुरा गरि नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाई पाईसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।’

गृहमन्त्री लामिछानेले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको गुरुङले बताएका छन् । लामिछानेलाई बोलेको कुराहरू पुष्टि गर्न चुनौती दिँदै गुरुङले पुष्टि नभए उनीमाथि कारबाही गर्न माग गरेका छन् ।

‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रुपले माग गर्दछु’, उनले भने ।

‘कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु’, गुरुङको पत्रमा छ ।

सांसदले यसरी गृहमन्त्रीमाथि अवहेलनामा कारवाही माग गरेपछि सभामुखले तत्काल नियम २२० अनुसार आचरण अनुगमन समिति गठन गरेर गृहमन्त्रीसँग स्पष्टीकरण लिनुपर्छ ।

नियम २२२ अनुसार गृहमन्त्री लामिछानेले आचरण उल्लंघन गरे/नगरेको ठहर गरेर सभामा प्रतिवेदन पेश गर्नुपर्छ । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेमाथि कांग्रेसले संसदीय छानविन समितिको माग गरिरहेका बेला सांसद गुरुङको पत्रले अर्को समिति बन्यो भने लामिछाने फस्नेछन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढङ्गले सञ्चालन गर्न सकेका छैनन् । कांग्रेसका सांसद गुरुङको पत्रका बारेमा घिमिरेले निष्पक्ष रुपमा अगाडि बढाउँछन् भन्नेमा आशंका छ ।

Published : Monday, 2024 May 20, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया